एमाले अध्यक्षका लागि ओली र रावलबीच निर्वाचन हुँदैं – Nagarikabhiyan : National News

एमाले अध्यक्षका लागि ओली र रावलबीच निर्वाचन हुँदैं

चितवन । नेकपा एमालेको निर्विरोध अध्यक्ष हुन चाहेका केपी ओली र नेता भीम रावलवीच अन्तत् चुनाव नै हुने भएको छ ।

सौराहमा जारी दशौं महाधिवेशनको बन्दसत्र रोकेर दिनभर नेताहरूसँग छलफल गरेका ओलीले रावलसँग सहमति हुन नसकेपछि अन्तत् निर्वाचन नै हुने भएको हो ।

यसअघि ओलीले रावललाई उपाध्यक्ष बस्न आग्रह गरेपनि रावलले भने ठाडै अस्वीकार गरेका थिए ।

मध्यरातमा सुरू भएको बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका ओलीले अध्यक्ष मण्डलमा १९ जना पदाधिकारीबारे छलफल गरेका थिए । उनले अध्यक्ष मण्डलमै रहेका रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव समेत गरेका थिए । तर रावलले उनको प्रस्तावलाई अस्वीकार गरे ।

बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले एकताका लागि आफूले धेरै प्रयास गरेको बताए । असहमति र असन्तुष्टि हुनु स्वभाविक भएपनि बाहिर लैजान राम्रो नभएको भन्दै उनले भने, ‘मैले धेरै पटक भीम रावललाई उपाध्यक्षको उम्मेदवार बन्न आग्रह गरेँ, तर सम्झाउन सकिएन ।’

ओलीले ३०१ सदस्यीय केन्द्रीय कमिटि पेश गरेका छन् । यद्यपि ती पदमा नपरेकाहरुले भने चुनाव लड्न पाउने भएका छन् ।