नेपालमा कोरोना संक्रमण नियन्त्रण बाहिर जान सक्ने चेतावनी – Nagarikabhiyan : National News

नेपालमा कोरोना संक्रमण नियन्त्रण बाहिर जान सक्ने चेतावनी

काठमाडौं । केही जिल्लामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि सरकारले मास टेस्टिङ अर्थात् ठूलो सङ्ख्यामा जनसमुदायमा गरिने परीक्षण थालेको जनाएको छ।

भारतसँगको सीमावर्ती जिल्लाहरूमा सङ्क्रमितको सङ्ख्या बढेको र जनस्वास्थ्यकर्मीले समुदायमै सङ्क्रमण फैलिएको आशङ्का गरेका बेला सरकारले मास टेस्टिङको काम थालिएको जनाएको हो ।

विगतमा काठमाडौं उपत्यकामा गरिएको मास टेस्टिङ अहिले नाकाहरूमा थालिएको र अब छिट्टै सङ्क्रमितको सङ्ख्या बढेका जिल्लाहरूमा थालिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारी बीबीसीलाई बताए ।

तर, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वमहानिर्देशक डा. बाबुराम मरासिनीले ‘मास टेस्टिङ’ राम्रो विकल्प नभएको बताएका छन् ।

त्यसोत नेपालमा कोरोना महामारीको अवस्था भयावह हुने भन्दै डा. मरासिनीले चेतावनी दिएका छन् । सरकारले सुरुमा प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने बताए पनि पछिल्ला दिन ४ हजारको हाराहारीमा मात्रै परीक्षण भइरहेको छ ।

त्यति सङ्ख्यामा परीक्षण हुँदा डेढ सयको हाराहारीमा सङ्क्रमित देखिनु सङ्ख्यात्मक हिसाबले धेरै भएको भन्दै परीक्षणको दायरा र सङ्ख्या बढाउनुको विकल्प नरहेको डा. मरासिनीले बताए ।

डा. मरासिनीले बीबीसीलाई भने–‘दैनिक १० हजारको सङ्ख्यामा परीक्षण पुर्‍याइएन भने निकै भयावह अवस्था आउनेछ । अबको १५–२० दिनमै नियन्त्रण गर्न गाह्रो हुने गरी सङ्क्रमण देखिनेछ।’ तर सरकारी अधिकारीहरू भने अहिलेसम्म समुदायस्तरमा सङ्क्रमण पुगिनसकेको दाबी गर्दै आएका छन् ।

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी भन्छन्–‘हामीले जुन मापदण्ड मानेर स्थानीय स्तरमा छरछैन भन्ने यकिन गर्ने हो । त्यो हेर्दा समुदायस्तरमा देखिएको छैन ।’

सरकारले करिब ४५ हजारको मास टेस्टिङ गर्ने भन्दै काठमाडौंमा परीक्षण शुर गर्यो । काठमाडौंमा ५ हजार परीक्षण गर्दा जम्मा तीन जनामा सङ्क्रमण देखिएको छ । काठमाडौं प्रवेश गर्ने नाकाहरूमा परीक्षण गर्न भनेर दुई दिनदेखि काम सुरु भएको डा. अधिकारीले बताए ।

‘काठमाडौं प्रवेश गर्ने नाकाहरूबाट परीक्षण गर्दा कुन क्षेत्रका मानिसमा सङ्क्रमण छ भन्ने थाहा पाएर कन्ट्याक्ट ट्रेसिङ्ग गर्न सजिलो हुन्छ भनेर हामीले थालेका हौँ,’ उनले भने– ‘जुन क्षेत्रका स्थास्थ्य अधिकारीबाट सङ्क्रमणको विषयलाई लिएर चिन्ता बढेका छन् ती क्षेत्रमा मास टेस्टिङ गर्ने भनेर काम थालेका छौँ ।’

उनका अनुसार प्राथमिकतामा राखिएका क्षेत्रहरूमा काठमाडौं, मोरङ, कास्की, बाँके, रुपन्देही, बारा, पर्सा र सप्तरी छन् ।

त्यसोत पछिल्लो २४ घण्टामा नेपालमा १ सय ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ सय २६ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट १३ हजार ४ सय ५४ जना उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ ।