सुनसरीको भारतीय सिमा क्षेत्रमा सशस्त्र प्रहरी बल थप , सुरक्षा व्यवस्था थप कडा
४ बैशाख २०७७, बिहीबार १०:५५
सुनसरी । नेपालसँग सीमा जोडिएका भारतीय राज्यमा कोरोना भाइरसको संक्रमण बढेपछि सुनसरीको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको परिचालन बढाइएको छ । प्रदेश १ मा सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई सीमा क्षेत्रमा नै केन्द्रित गरेको छ । यसअघि दशगजा क्षेत्रदेखि १ किलोमिटर टाढा रहेको सशस्त्रको सुरक्षा पोस्ट दशगजा क्षेत्रमा खडा गरिएको थियो ।
खुला सीमानाका कारण भारतबाट मानिसहरु लुकिछिपी नेपाल प्रवेश गर्ने सम्भावना देखिएकाले जनशक्तिलाई सीमा क्षेत्रमा केन्द्रित गरेको सशस्त्र प्रहरी बलको प्रदेश १ बाहिनी पकलीले जनाएको छ ।
सशस्त्र प्रहरीको जवानको आधारभूत तालिममा रहेका प्रशिक्षार्थी, प्रधान कार्यालय र अन्य प्रदेशबाट समेत जनशक्ति थप गरेर सीमा क्षेत्रमा परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रदेश १ बाहिनी मुख्यालयले जनाएको छ ।
भारतको विहार राज्यसंग सीमाना जोडिएको सुनसरीको सीमाबर्ती क्षेत्रमा जनशतिmलाई केन्द्रित गरेको बाहिनीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) नगेन्द्र थापाले जानकारी दिनुभयो । सीमा क्षेत्रमा नयाँ पोस्ट थपेर सात जनाको दरले ड्युटीको व्यवस्था मिलाइएको छ । भारतसँग सुनसरी क्षेत्रमा ५८, वटा नयाँ पोस्ट थपिएको छ । यसअघि सनसरीमा ९ वटा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट रहेको थियो ।
जिल्लाको सीमामा लकडाउनअघि दशगजा क्षेत्रदेखि १ किलोमिटर टाढा सशस्त्रको चेकपोस्ट राखिएको थियो । लकडाउनपछि सशस्त्र प्रहरीले दशगजा क्षेत्रमा नै नयाँ चेकपोष्ट तयार गरी सीमा क्षेत्रमा मानिस आवत आवजमा पूर्ण रुपमा कडाइ गरेको जनाएको छ । सशस्त्र प्रहरीले दशगजा क्षेत्रमा अहिले चौबिसै घण्टा गाडी, मोटरसाइकल, साइकल र पैदल गस्ती गरिरहेको जनाएको छ । त्यस्तै आकस्मिक चेकजाँच र इन्टिलिजेन्स प्रयोग गरेर बोर्डरलाई सिल गरी मानिसहरुको आवत–जावतलाई पूर्णरुपमा रोकिएको डीआईजी थापाले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया