नोवेललाई उत्कृष्ट करदाताको सम्मान
१ मंसिर २०७८, बुधबार १९:३१
विराटनगर । स्वास्थ्य तथा शिक्षा सेवा प्रदायकमध्येबाट मुलुककै सबैभन्दा बढी आयकर तिरेर विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल यस वर्ष पनि सम्मानित भएको छ ।
आर्थिक वर्ष २०७६। ०७७ मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट करदाता बनेर नोबेल सम्मानित भएको हो । १० औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार बिहान काठमाडौंमा आयोजित समारोहकाबीच आन्तरिक राजश्व विभागले नोबेललाई सम्मान गरेको छ । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधुकुमार मरासिनीले नोबेलका प्रमुख कार्यकारी अधिकृत डा. भोगेन्द्रप्रसाद उपाध्यायलाई माला र खादा लगाएर सम्मानपत्र प्रदान गरी सम्मानित गरे । कार्यक्रममा अन्य क्षेत्रका उत्कृष्ट करदाताहरूलाई पनि सम्मानित गरियो । यससँगै नोबेल दुईपटक मुलुकको उत्कृष्ट करदाता बनेको छ ।
यसअघि आर्थिक वर्ष २०७३।०७४ मा पनि स्वास्थ्य तथा शिक्षा क्षेत्रबाट मुलुककै सबैभन्दा बढी आयकर तिरेर नोबेल सातौं कर दिवसमा पुरस्कृत भएको थियो । दोस्रो पटक पनि मुलुकको उत्कृष्ट करदाता बनेपछि प्रतिक्रिया दिदैं नोबेल अस्पतालका सञ्चालक डा. सुनिल शर्माले यसपटक पनि राज्यलाई बढी कर तिर्न सफल भएकोमा खुसी व्यक्त गरे । “स्वास्थ्य तथा शिक्षा सेवा प्रदायकमध्येबाट मुलुककै सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा नोवेल सम्मानित हुँदा अत्यन्तै खुसी लागेको छ,” शर्माले भने,” ।
२०६१ सालमा विराटनगरको कञ्चनबारीमा स्थापना भएको नोबेल मेडिकल कलेज गुणस्तरीय उपचार र स्तरीय चिकित्सा शिक्षाका क्षेत्रमा अब्बल मानिन्छ । पटक–पटक मुलुकको उत्कृष्ट करदाता बनेर नोबेलले राज्यलाई बढी योगदान गर्ने महत्वपूर्ण संस्थाको पहिचान पनि थपेको छ । प्रदेश–१ सहित विभिन्न प्रदेशबाट आउने बिरामीलाई नोवेलले सेवा प्रदान गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया