सुनसरीमा जनगणनाको सबै तयारी पुरा – Nagarikabhiyan : National News

सुनसरीमा जनगणनाको सबै तयारी पुरा

सुनसरीमा कात्तिक २५ गते बाट सुरु हुने १२ औं राष्ट्रिय जनगणनाको सम्पूर्ण तयारी पुरा भएको जिल्ला जनगणना कार्यालयले जनाएको छ । ‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित सुरु हुने जनगणनामा जिल्लाको १२ वटै स्थानीय तहको १२४ वटै वडाका विभिन्न समुदाय तथा समाजका सबै तहतप्काको सहभागिता गराउने गरि तयारी पुरा भएको कार्यालयले जनाएको छ । मंगलबार जिल्ला जनगणना कार्यालय सुनसरीले राष्ट्रिय जनगणना २०७८ को सन्दर्भमा पत्रकार भेटघाट कार्यक्रम गरी सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । प्रत्येक वडामा गणकहरुलाई स्थलगत तथ्याङक संकलनका लागि सम्बन्धित स्थानमा पठाउने काम भएको जनाएको छ । यसअघि राष्ट्रिय जनगणनामा खटिने एक हजार २४ गणकका लागि चार दिने अभिमुखिकरण तालिम दिइएको, २३५ जना सुपरिवेक्षक खटाएर भदौ ३० देखि असोज १८ गतेसम्म जिल्लाभर घर तथा घरपरिवार सूचीकरण गरीएको कार्यालयका प्रमुख सुभाष अधिकारीले जानकारी दिनुभयो । जनगणना कार्यमा विशेष सहयोग गर्न पत्रकार र स्थानीय सरकारलाई आग्रह गरीएको तथ्याङक कार्यालायका प्रमुख अधिकारीले बताउनुभयो । जनगणना अन्र्तगत पहिलो चरणमा भदौ ३० देखि असोज १८ गतेसम्म मुलुकभर घर तथा घरपरिवार सूचीकरण गरीएको छ भने मूल गणनामा गणकले प्रत्येक घर परिवार मुलीसगै सोधपुछ गरी ५५ वटा प्रश्नावली भर्ने छन् । जसमा पारिवारिक विवरण र व्यक्तिगत विवरण संकलन गरिने जनगणना अधिकारी मनोज कुमार मेहताले जानकारी दिनुभयो । जिल्लामा १२ औं राष्ट्रिय जनगणनाको लागि कार्तिक २५ गतेदेखी मंसिर ९ गतेसम्म जनगणना गरिने तयारी भएको पत्रकार सम्मेलन गर्दै तालिका सार्वजनिक गरेको मेहताले बताउनुभयो । जिल्ला जनगणना कार्यालयको आयोजना तथा जिल्ला जनगणना समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाटमा कात्तिक २५ गतेबाट मंसिर ९ गतेभित्र एकसाथ मूल जनगणना सम्पन्न हुने जनाएको छ ।
कार्यक्रममा प्रजिअ यादवले वि.सं.१९६८ मा पहिलो जनगणना भएको र यो १२ औं जनगणना नयाँ संरचनामा पहिलो पटक हुन लागेकाले सबैलाई सकृय सहभागीता र सही सूचना दिनका लागि अपिल गर्नुभएको छ । नेपालमा २००७ सालको राजनीतिक परिवर्तनपछि २००८ सालको जनगणना २००९ र २०११ सालमा सम्पन्न भएको थियो । त्यसपछि १२ औं जनगणना विश्वव्यापी महामारीले पाँच महिना ढिलो लिने तयारी गरिएको छ । जनगणनाको तयारी भएको जानकारी दिन आयोजना भएको पत्रकार सम्मेलनमा समितिका सदस्य तथा जिल्ला समन्वय समिति अधिकारी त्रिलोचन न्यौपाने, प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार थापा, राष्टिय अनुसंधानका निर्देशक नरेन्द्र दाहाल, सशस्त्र प्रहरी उपरीक्षक माधव पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल सहित जिल्लाका पत्रकारहरुको उपस्थिती रहेको थियो ।
१, जिल्ला जनगणना कार्यालय सुनसरीले इनरुवामा आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ को सन्दर्भमा पत्रकार भेटघाट कार्यक्रममा अधिकारीहरु । तस्बिर ः जयकृष्ण यादव । इनरुवा