सुनसरीको पकलीस्थित महाविरा टिम्बर ईण्डस्ट्रिजबाट अवैध काठ बरामद – Nagarikabhiyan : National News

सुनसरीको पकलीस्थित महाविरा टिम्बर ईण्डस्ट्रिजबाट अवैध काठ बरामद

इनरुवा ।  सुनसरीको पकलीस्थित महाविरा टिम्बर ईण्डस्ट्रिजबाट डिभिजन वन कार्यालय सुनसरीले अवैध काठ बरामद गरेको छ ।
काठ व्यवसायी सुवर्ण शम्शेर राईले सञ्चालन गरेको महाविरा टिम्बर ईण्डस्ट्रिजबाट वन कार्यालयले ७२ क्यूफिट अवैध काठ बरामद गरेको हो । उक्त काठ कहाँबाट ल्याइएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयका रेन्जर खिलानाथ निरौलाले बताए ।

कार्यालयले सञ्चालक राई र कर्मचारी दिलीप पासवानलाई समेत पक्राउ गरेको थियो । पक्राउ परेका सञ्चालक राईलाई जमानतमा छाडिएको निरौलाले जानकारी दिए । निरौलाका अनुसार कर्मचारी पासवानलाई भने नियन्त्रणमै राखेर अनुसन्धान भइरहेको छ ।

बरामद काठ मुद्दा प्रक्रियामा गइसकेको उनले जानकारी दिए । २५ दिनभित्र मुद्दा प्रक्रिया टुंगो लगाउने गरी डिभिजन वन कार्यालयले रेन्जर निरौलालाई नै अनुसन्धान अधिकृत तोकेको छ । “अवैध काठका विषय मुद्दा प्रक्रियामा गइसकेकाले अब कानुनअनुसार कारबाही हुन्छ,” अनुसन्धान अधिकृतसमेत रहेका निरौलाले भने, “जाँचबुझको काम भइरहेको छ, बिगोबमोजिम कारबाही हुन्छ ।”