प्रधानन्यायाधीश जबराविरुद्ध बारले आन्दोलन थप कडा बनाउँदै – Nagarikabhiyan : National News

प्रधानन्यायाधीश जबराविरुद्ध बारले आन्दोलन थप कडा बनाउँदै

काठमाडौं ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बारले विरोध कार्यक्रमलाई निरन्तरता दिने भएको छ। साथै बारले आन्दोलनलाई थप कडा बनाउन देशभरिका बार इकाइसँग छलफल गर्ने जनाएको छ।

कात्तिक १४ देखि १७ गतेसम्म वकिलहरूले प्रधानन्यायाधीश जबराविरूद्ध हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत र नेपाल बार एशोसिएसन परिसरमा विरोध प्रदर्शन गरेका थिए। त्यसपछि तिहारको बिदा सुरु भएको थियो। आज (सोमबार)देखि उक्त विरोध कार्यक्रमलाई निरन्तरता दिने भएकाले सबै कानुन व्यवसायीलाई उपस्थित हुन बारले आह्वान गरेको छ।

सर्वोच्च अदालत बार एसोसिएसनले सोमबार सर्वोच्चमा कालोपट्टीसहित धर्ना, २३ र २५ कात्तिकमा देशभरका अदालतमा धर्ना दिनुपर्ने सुझाव दिइसकेको छ । २६ कात्तिकमा इकाइमार्फत देशभरका अदालत केही समयका लागि बन्द गराउन पनि सर्वाेच्च बारको सुझाव छ ।

यद्यपि, नेपाल बारले दोस्रो चरणका आन्दोलन घोषणा अघि यसअघिका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । जसअनुसार सोमबार सर्वोच्च कालोपट्टीसहितको विरोध कार्यक्रम हुनेछ । काठमाडौं उपत्यकामा रहेका कानुन व्यवसायीलाई सहभागी हुन आह्वान गरिएको  छ ।

न्यायाधीशहरू बन्दीका बाहेक मुद्दा नहेरेर जबरालाई राजीनामा दिन दवाव दिइरहेका छन् । उनीहरू पनि आज बिहानैबाट जबराविरुद्धको आनदोलनको रणनीति तय गर्न बैठक बस्दै छन् । एक न्यायाधीशका अनुसार तिहारपछि नेपाल बारले घोषणा गर्ने आन्दोलन हेरेर न्यायाधीशले समेत जबराविरुद्धको रणनीति तय गर्नेछन् ।