प्रदेश २ सरकारलाई बदनाम गर्ने कोशिस भयो: मुख्यमन्त्री राउत
२० आश्विन २०७८, बुधबार १४:४०
काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो नेतृत्वको सरकारलाई बदनाम गर्न अनेक कोशिस भइरहेको बताएका छन् । उनले आफ्नो नेतृत्वमा सरकार बनेको साढे तीन वर्षभन्दा बढी समय भइसकेको भन्दै यसबीचमा धेरै चुनौती पार गर्दै यहाँसम्म आइपुगेको बताए । बुधबार प्रदेशसभा बैठकमा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिनअघि मुख्यमन्त्री कार्यालयमा छापा मार्नु सरकारलाई बदनाम गर्ने प्रयास भएको बताएका हुन् ।
केही कमजोरी भए बोलाएर सोध्न सक्ने भन्दै मुख्यमन्त्री राउतले एक्कासी छापा मार्नु हस्तक्षेप भएको बताए । ‘यदि त्यसमा कुनै त्रुटि छ भने, फाइल कमजोर छ भने बोलाएर सोध्न सक्नुहुन्छ’ उनले भने, ‘तर यो अट्याक हो । प्रदेश सरकारलाई बदनाम गर्ने प्रयास गरिएको छ ।’ मुख्यमन्त्री कार्यालयले बेटी बचाऊ बेटी पढाउ कार्यक्रम अन्तर्गत गत वर्ष प्रदेशभरका ८ कक्षाका छात्रालाई साइकल वितरण गरेको थियो । मुख्यमन्त्री राउतले आफ्नो सम्बोधनको अधिकांश समय उक्त कार्यक्रमबारे प्रष्ट गर्न खर्चिए । सो कार्यक्रम पारदर्शी नभएको भन्दै समाचार प्रकाशन भएपछि अख्तियारले गत हप्ता छापा मारेको थियो ।
अख्तियारले छापा मारे पनि यसलाई राजनीतिक दलले एजेण्डा बनाउन नहुने बताए । छोरी बिमा विभिन्न कारण रोकिएको उनले उल्लेख गरे । प्रदेशवासीको असीमित आकांक्षा पूरा गर्नु चुनौतीपूर्ण भएको उनको भनाइ छ । उनले कर्मचारीको असहयोग र महिनैपिच्छैको सरुवाले काम गर्न नसकेको जिकिर गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया