कतारमा नाम मात्रका लागि संसद् सदस्यको मतदान – Nagarikabhiyan : National News

कतारमा नाम मात्रका लागि संसद् सदस्यको मतदान

दोहा । कतारमा संसद् सदस्य चयनका लागि शनिबार पहिलो पटक मतदान भएको छ ।संसदका कुल ४५ सिटमध्ये ३० सिटका लागि मतदान भएको हो । बाँकी १५ सिटमा भने राजाले नै मनोनीत गर्ने व्यवस्था रहेको छ ।

विश्लेषकहरूले भने निर्वाचनको नतिजा नयाँ खासै नआउने अनुमान गरेका छन् । यसअघि सत्तामा र संसद भएकाहरू नै फेरि निर्वाचित हुने अनुमान गरिएको छ । आवरणमा निर्वाचन लोकतान्त्रिक देखिए पनि शासकहरूबाट सत्ता र शक्तिबाहिर जाने सम्भावना कम रहेको छ ।
कतारका नागरिकहरू बिहानैदेखि मतदानका लागि मतदान केन्द्रहरूमा पुगेका र दर्ता अधिकारीसँग नाम दर्ता गरेर मतदान गरिरहेका दृश्यहरू सार्वजनिक भएका छन् । मतदान केन्द्रमा अर्धपारदर्शी प्लाष्टिकका मत पेटिकाहरू राखिएका छन् भने सुरक्षाकर्मी तथा निर्वाचन अधिकृतहरु पनि पर्याप्त मात्रामा खटिएका छन् ।
संसद सदस्यका लागि पुरुष उम्मेदवारहरूको संख्या अत्यधिक रहेको छ । कुल २८४ उम्मेदवारहरुमध्ये २८ जना मात्रै महिला उम्मेदवार छन् ।