काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले तत्कालीन प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग विद्रोह गरेको दाबी गरेका छन् ।
उनले प्रतिक्रियावादीहरुले अहिले पनि माओवादीलाई घेरामा हालेर सखाप पार्ने रणनीति अपनाएको र आफूहरुले त्यो घेरा तोडेर प्रतिक्रियावादीहरुलाई परास्त गरेको पनि दाबी गरे ।
पार्टीको सम्पर्क मञ्चका कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा काठमाडौंमा शनिबार उनले भने, ‘हामी अहिले रक्तपातहीन युद्धको राजनीतिमा छौं । यो कुरा स्थापित भइ सकेको छ ।’
यसअघिको तीन वर्ष जेलभित्र बसेको जस्तो भएको चर्चा गर्दै प्रचण्डले ओलीले जहिल्यै पनि जालझेल मात्रै गरेको टिप्पणी गरे । उनले भने,‘बिहान पनि दर्शन भेट गरेको छ, बेलुका पनि दर्शन भेट गरेको, म मौकाको पखाईंमा थिएँ । जुन दिन उनले प्रतिनिधिसभा विघटन गरे, त्यही दिनदेखि म बालुवाटारको जेलबाट मुक्त भएँ ।’
प्रचण्डले नेकपा एमालेसँग प्रतिवाद गरेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
उनले एमाले नेता, कार्यकर्ताको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने निष्कर्ष सुनाउँदै अबको डेढ वर्ष एमाले गणतन्त्र विरोधी, संघीयता विरोधी रहेको आरोप लगाए ।
अध्यक्ष प्रचण्डले आफ्ना पार्टीका लडाकु कार्यकर्तामाथि एमालेले आक्रमण गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसो गरे आफ्नो पार्टीले एमाले विरुद्ध देशभर प्रतिवाद गर्ने चेतावनी समेत दिए । उनले भने, ‘केपीको हातमा नेतृत्व छ र उनले फेरि एकचोटी माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन् । उनले डेढ वर्ष भित्र हामी सरकारमा जान्छौ भनेका छन् । देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिँदैन ।’
देश, संविधान र गणतन्त्र बचाउनका लागि पनि एमाले विरुद्ध सशक्त ढंगले अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘केपी ओलीले छलकपटको बाटो लिएपछि उनीविरुद्ध पार्टी हेडक्वार्टरमै बमबारी गर्नु परेको थियो ।’ काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले धेरै दुःख गरेको बताउँदै उनले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा विजयी भएसँगै आफू खुसी भएको बताए ।
हामी अहिले पनि रक्तपातहीन युद्धको राजनीतिमा छौं : प्रचण्ड
१६ आश्विन २०७८, शनिबार १६:२५
