साहेबगंज नाकामा सुरक्षा व्यवस्था कडा, तस्करी शुन्य – Nagarikabhiyan : National News

साहेबगंज नाकामा सुरक्षा व्यवस्था कडा, तस्करी शुन्य

इनरुवा । सुनसरीको भारतीय सिमावर्ती क्षेत्र साहेबगंजमा सिमा सुरक्षा मजबुत पारे संगै तस्करी शुन्यमा झरेको छ । झण्डै एक वर्ष अघि सिमामा बढेको चोरी तस्करी आठ महिना यता शुन्यमा झरेको हो ।

बिओपी साहेबगंजको सकृयताको कारण सिमामा सुरक्षा व्यवस्था मजबुत भए संगै चोरी तस्करी न्यूनिकरण भएको हो । सशस्त्र सिमा सुरक्षा बल पोष्ट बिओपी देवानगंज ५ साहेबगंजमा रहेको भए पनि देवानगंज गाउँपालिकाको ५ नं. वडा संगै बर्जु गाउँपालिकाको ४, ५ र ६ नम्बर वडाको ६ किलोमिटर सिमामा सुरक्षा दिई रहेको छ । सिमामा भारतीय र नेपाली सुरक्षाकर्मीको संयुक्त अनुगमन र सुरक्षा गस्तीका कारण चोरी तस्करी नियुन भएको स्थानीयहरुले बताएको छ ।

गाउँमा सिमा सुरक्षा गर्न बसेको सशस्त्र प्रहरीले देवानगंज र बर्जुको मुख्य पिलर ३ वटा मझयौला २ वटा र सानो पिलर ५ वटा गरी १० वटाको संख्यामा पिलर सुरक्षा सहित बोर्डर इलाकामा ५ दशमलव २ किलोमिटर क्षेत्रमा सेवा र सुरक्षा प्रदान गरी रहेको सशस्त्र प्रहरी निरिक्षक श्यामबाबु यादवले जानकारी दिनुभयो । सशस्त्र प्रहरी निरिक्षक यादवका अनुसार देवानगंज र बर्जुको सिमा सुरक्षा सहित नागरिकको जीउ धनको सुरक्षामा समेत सशस्त्र प्रहरी कृयाशील रहेको छ । सशस्त्रले सिमामा रहेको अतिक्रमण नेपाल र भारतीय सुरक्षाकर्मीको पहलमा हटाइएको समेत यादवले बताउनु भयो ।

सशस्त्र प्रहरीले देवानगंजको साहेबगंज क्षेत्रमा ३ र बर्जुको ३ गरी ६ स्थानलाई अवैध चोरी पैठारी हुन सक्ने संभावित स्थान मानेर सोही अनुसार सुरक्षा गस्ती बढाएको सशस्त्र प्रहरी निरिक्षक यादवको भनाई रहेको छ । यादव आए संगै सिमा सुरक्षामा सुधारको साथै चोरी तस्करी शुन्य भएको र नागरिकहरु बिगतमा राती जागराम बस्न बाध्य रहेकोमा सोबाट मुक्ति पाएको स्थानीय अमरसिंह माविका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिंकु मेहताले बताउनु भयो । मेहताले सिमामा दशक कै यता सबै भन्दा बढी सुरक्षा व्यवस्था मजबुत पारेको र ३ महिना देखिको लकडाउन र सिमा सुरक्षामा कडाई गरेका कारण कोरोना जस्तो महामारी फैलिनबाट समेत बर्जु र देवानगंजलाई जोगाएको बताउनु भयो ।

अर्का स्थानीय गिरिजा यादवले समेत सिमामा सुरक्षा बढे संगै चोरी तस्करीका साथै लागु् औषध र घरेलु मदिरा उत्पादन र बिक्री वितरण समेत रोकिएकाले गाउँ घरमा हुने झैझगडा समेत कम भएको बताउनु भयो ।