तालिबानले सत्ता कब्जा गरेको झन्डै एक महिनापछि व्यवसायिक उडान सुरू
२५ भाद्र २०७८, शुक्रबार ११:१५
तालिबानले सत्ता कब्जा गरेको झन्डै एक महिनापछि अफगानिस्तानको राजधानी काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान सुरू भएको छ। समाचार संस्था रोयटर्सका अनुसार बिहीबार कतार एयरवेजको जहाज काबुलबाट दोहाका लागि उडेको छ।
तालिबानले सत्ता कब्जा गरेपछि पहिलो पटक व्यवसायिक उडान गरेको उक्त जहाजमा झन्डै ११३ यात्रु थिए। उनीहरू अमेरिका, बेलायत, क्यानडा, जर्मनी र बेलायतका नागरिक हुन्।
अगस्ट १५ मा तालिबानले काबुल कब्जा गरेपछि अमेरिकी सैनिकले विमानस्थल सञ्चालन गरेर उद्धार उडानमात्र गरेको थियो। अमेरिकी सैनिकले अगस्ट ३१ मा काबुल विमानस्थल छोडे पनि तालिबानहरूले विमानस्थल सञ्चालन गर्न सकेका थिएनन्।
कतार एयरवेजले शुक्रबार पनि काबुलबाट नियमित उडान हुने बताएको छ।
बिहीबार नै काबुल विमानस्थलमा पाकिस्तान एयर फोर्सको जहाज पनि गएको छ। उक्त जहाजले खाद्यान्नसहित विभिन्न सहयोग सामग्री लिएर गएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया