मुख्यमन्त्री शाक्यले थपिन् १० मन्त्री, सपथ हुँदै – Nagarikabhiyan : National News

मुख्यमन्त्री शाक्यले थपिन् १० मन्त्री, सपथ हुँदै

काठमाडौं ।  बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार १० सांसदलाई मन्त्री बनाएकी छन्।

मुख्यमन्त्री शाक्यको सरकार एमाले विभाजनसँगै अल्पतमा परेको छ। अल्पमतमा भए पनि उनले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा नगएका सांसदलाई मन्त्री बनाउन लागेकी हुन्।

बागमती प्रदेशमा एमाले प्रमुख सचेतक दीपक निरौलाले आजै २ बजे नवनियुक्त मन्त्रीहरूको सपथ ग्रहण समारोह प्रदेश प्रमुखको कार्यालयमा हुने बताए।

‘अहिले मुख्यमन्त्री अल्पमतमा हुनुहुन्छ भन्न मिल्दैन’, निरौलाले भने, ‘उहाँ संसदबाट विश्वासको मत लिएर अघि बढ्नुहुन्छ। मुख्यमन्त्रीले संसद फेस गर्नुहुन्छ।’

बागमतीमा अहिले एमालेका ४३ सांसद छन्। पार्टी विभाजनपछि माधव नेपाल नेतृत्वको  नेकपा (एकीकृत समाजवादी) को पक्षमा १३ सांसदले सनाखत गरेका छन्।

बागमतीमा यसअघि एमाले एक्लैको बहुमत रहेको थियो। बागमती प्रदेश सभामा बहुमतका लागि मुख्यमन्त्री शाक्यलाई ५५ सांसद आवश्यक हुन्छ। १३ सांसदले एमाले छोडेसँगै प्रदेश सभामा विपक्षी गठबन्धनको पक्षमा बहुमत पुगेको हो।