कोशी व्यारेजमा यो वर्षकै उच्च बहाव , खतरा भने छैन – Nagarikabhiyan : National News

कोशी व्यारेजमा यो वर्षकै उच्च बहाव , खतरा भने छैन

इनरुवा ।  पूर्वी पहाडी क्षेत्रमा लगातार परेको अविरल वर्षाका कारणले सप्तकोशी नदीमा पानीको वहाव बढ्ने क्रम सुरु भएको छ । तीन दिनदेखि लगातार परेको वर्षाका कारण सप्तकोशीमा पानीको वहावमा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

विहीबारसम्म सामान्य बहाव रहेको र क्रमशः बढ्ने क्रममा शुक्रबार दिउसो ३ बजे वहान एकाएक बढेको हो । शुक्रबार मध्याह्न १२ बजे गरिएको मापनानुसार कोशी ब्यारेज भएर एक लाख ७६ हजार ५१० क्युसेक प्रतिसेकेन्ड पानीको वहाव रहेकोमा दिउसो ३ बजे १ लाख ९० हजार क्युसेक प्रतिसेकेन्ड पानीको वहाव भएको कोशी व्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

कोशीमा पानीको वहाव वृद्धि भएपनि तत्काल कुनै खतरा भने नरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो । अहिले कोशी ब्यारेजका २६ ढोका खुुला गरिएको वहाँले जानकारी दिनुभयो ।

विभिन्न क्षेत्रमा केही दिनयता निरन्तर पानीपर्ने क्रम जारी रहेकोले कोशी ब्यारेजमा पानीको बहाव बढ्दै गएको वहाँको भनाई रहेको छ । वहाँले ठूलो खतरा नभएपनि सावधानी र सतर्कता अपनाउन भने तटीय क्षेत्रका स्थानीयहरुलाई आग्रह गरिएको बताउनुभयो ।