सिन्धुली अस्पतालको आइसोलेसनमा महिलाको मृत्यु
१२ असार २०७७, शुक्रबार १५:४२
सिन्धुली । सिन्धुली अस्पतालको आइसोलेसनमा उपचाररत एक महिलाको बिहीबार राति मृत्यु भएको छ । महोत्तरीको पाटु घर भएकी २१ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
अत्याधिक ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि महिला बिहीबार दिउँसो अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् । उनको आइसोलेसनमा राखेर उपचार गर्दागर्दा मृत्यु भएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डाक्टर प्रशन्न राजभण्डारीले जानकारी दिए ।
यही असार ३ गते पाटुबाट सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ सिम्लेस्थित माइती घरमा आएर बसेकी ती महिलालाई उपचारमा ल्याउन ढिला हुँदा मृत्यु भएको डा.राजभण्डारीको भनाइ छ ।
मृत्यु भएकी महिलामा कोभिड–१९ को संक्रमणको लक्ष्यण देखिएकाले शुक्रबार बिहान उनको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि प्रादेशिक अस्पताल हेटौंडा पठाइएको डाक्टर राजभण्डारीले जानकारी दिए ।
मृतक महलिाको शव व्यवस्थापन गर्न र उनको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा राख्न भनिएको छ । रिपोर्ट नआए पनि उनको सम्पर्कमा रहेका आफन्तहरुलाई नै स्वास्थ्य सुरक्षा अपनाएर शव व्यवस्थापनका लागि भनिएको हो ।
यसैगरी मृतकको पीसीआर रिपोर्ट नआएसम्म उनको सम्पर्कमा रहेका आफन्त र उपचारमा संलग्न डाक्टरलगायतका कर्मचारीलाई होम क्वारेन्टाइनमा बस्न भनिएको डाक्टर राजभण्डारीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया