द्रुत प्रतिकार्य केन्द्र इनरुवाको सहयोगमा बांगलादेशी महिला स्वदेश फिर्ता
१९ भाद्र २०७८, शनिबार १५:१०
देवानगंज । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोख्रेल र द्रुत प्रतिकार्य केन्द्र इनरुवाको पहलमा एक जना बंगादेशी महिला स्वदेश फिर्ता भएकी छन् । बंगलादेशबाट हराएर नेपाल आईपुगेकी महिलालाई क्यूआरसी इनारुवाले जेठ १४ गते इनरूवा नपा–३ बाट उद्धार गरि इनरुवा नगरपालिका संचालन गरेको सेफ हाउसमा राखिएको थियो ।
यी बंगलादेशी वृद्ध महिलालाई पोखरेलले बंगलादेश राजदुतावासको सहयोगमा उहाँको परिवारसँग मिलन गराउन सफल भएको हो । इनरूवा नगरपालिका लगायत क्यूआरसी टीम तथा नेपाल प्रहरीको सहयोगमा नेपाल आएकी ती महिलालाई जेठमा उद्धार गरी २२ वर्षपछि भादौ १८ गते उहाँको देशको दुताबासमा पठाएको र ती महिला आफ्नो परिवारसँग भदौ २० गते पुनर्मिलन गर्ने गरी पठाएको पोखरेलले बताउनुभयो । बंगलादेशी दुताबासका सलाहुद्धिन नोमन चौधरी, मसुद्ध आलम सहितको यो उद्धार कार्यमा सहयोग पाएको भन्दै पोखरेलले धन्यवाद तथा हार्दिक आभार ज्ञापन गर्नुभएको छ ।
युवा अधिकारकर्मीका अनुसार इनरुवामा सक्रिय रहेको द्रुत प्रतिकार्य केन्द्र इनरुवा शाखाले बेवारिसे अवस्थामा फेला पारेको ती बांगलादेशी बृद्ध नागरिकलाई अन्ततः गन्तब्यमा पुर्याउन सफल भएका छन् । इनरुवा क्षेत्रमा लामो समयदेखि समाजसेवा सक्रिय भई कार्य गर्दै आइरहेको क्यूआरसी टिमको संचालक अलबिना प्रवीण , स – संचालक मुकेश मेहता र सल्लाहकार कृष्ण मण्डल को टोलीले केही महिना अघि मिति २०७८/०२/१४ गते इनरुवा–३ बाट बेवारिसे अवस्थामा बृद्धालाई फेला पारी आवश्यक उद्धारका लागि इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेललाई जिम्मा दिएपछि बृद्धालाई इनरुवा नगरपालिकाले सञ्चालन गरेको सेफ हाउसमा राखिएको थियो ।
बृद्धा बांगलादेशी नागरिक रहेको प्रारम्भिक अवस्थामा फेला परेपछि उनको उद्धारको निम्ति नेपाल स्थित बांगलादेशी राजदुतावासलाई गुहारिएको थियो । क्यूआरसी इनरूवाको स–संचालक मुकेश मेहता र उपमेयर जनुमा गौतमको पहलमा बांगलादेशी राजदुतावासबाट मसुद आलमको नेतृत्वमा आएको टोलीले ती बृद्धाको वास्तविक पहिचान गरेको थियो ।

नेपाल स्थित बांगलादेश राजदूतावासका अनुसार बृद्धाको नाम अमेना खातुन रहेको फेला परेको थियो । वहाँ २२ वर्ष पहिले बोगराको धनुतमा रहेको आफ्नै घरबाट बेपत्ता भएको थियो । उहााका ३ छोरा र १ छोरीले उहाँलाई भेट्न पाउनुभएको थिएन् । परिवारमा उनकी आमा अब जीवित छैनन् । आमाको नाम उनीहरुको मतदाता परिचय पत्रमा मृत उल्लेख गरिएको थियो । अमेना खातुन अहिले ८० वर्षकी छन् र उहााका जेठा छोरा अमजद हुसेन ६० वर्षका छन् । उनलाई सेप्टेम्बर ६ मा ढाकास्थित उनको परिवारलाई बंगलादेश दूतावास, नेपाल को पर्यवेक्षणमा एक विशेष उडानमा पूर्ण सरकारी खर्चमा सुम्पिनेछ ।

बृद्धालाई आफ्नो आफन्तसम्म पु¥याउनको लागि नेपाल स्थित बांगलादेशी राजदुतावाश काठमाडौंसम्म पु¥याउन इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेलका साथै क्यूआरसीका सह–संयोजक मुकेश मेहता लगायतका समुह राजदुतावाश पुगेका थिए ।
यो कार्य दुवै देशका नागरिक र समाजको लागि उदाहरणीय कार्य भएको, २२ बर्ष पछि एउटा आमा आफ्नो छोरा छोरीसंग भेट्न पाउनु निकै खुसीको कुरा भएको नेपालका लागि बांगलादेशी राजदूत सलाउदीन नोमान चौधरीले बताउनुभयो । उहाँले आफनो मुलुकको नागरिकको उद्धारप्रति देखाएको सहानुभूतिका लागि इनरुवा नगरपालिका उपप्रमुख र क्यूआरसी समूहलाई धन्यवाद समेत दिएका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया