सर्लाही युवती मृत्यु प्रकरण, परिवारले शव बुझेनन्
३ भाद्र २०७८, बिहीबार १२:०५
सर्लाही । सर्लाहीको रानिगन्जमा शंकास्पद मृत्यु देखिएको युवतीको शव बुझ्न परिवारले अस्वीकार गरेका छन् ।
बुधवार राती जिल्ला अस्पताल मलङ्गवामा मृतक युवतीको शव पोस्टमार्टम भए पनि परिवारले बुझेका छैनन् । पोस्टमार्टम भइसकेको शव जिल्ला अस्पतालमै छ ।
घटनाको निष्पक्ष छानबिन हुने र दोषीमाथि कानुन बमोजिमको कारबाही गर्ने भनी आश्वस्त पार्दा समेत परिवारले शव नबुझेका प्रहरी स्रोतले जनाएको छ । गत साउन ३१ गते राती ११ बजेतिर घरबाटै बेपत्ता हुनुभएकी लालबन्दी नगरपालिका–१७, रानिगन्ज डाँडाटोल बस्ने राजेश भुजलेकी १६ वर्षीया छोरी प्रियंका भुजेल मङ्गलवार राती कालिन्जोर खोलामा मृत फेला पर्नुभएको थियो ।
पूर्व–पश्चिम राजमार्गस्थित कालिन्जोर पुलबाट करिब २ सय मिटर दक्षिणतर्फ गाडेको अवस्थामा युवतीको शव फेला परेको हो । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गाउँकै १८ वर्षीय किसन साह र १९ वर्षीय अनिस दाहाललाई पक्राउ गरेको छ ।
उनीहरु विरुद्ध बुधवार सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । मङ्गलवार दिउँसो महोत्तरीबाट पक्राउ परेका युवकहरूले नै त्यही दिन मध्यराती खोलामा गाडिएको युवतीको शव रहेको स्थान देखाएका हुन् ।
युवतीको मृत्यु नभई हत्या भएको भन्दै घटनाको छानबिन र दोषीलाई कारवाहीको माग राख्दै स्थानीयवासीले बुधवार दिउँसो लालबन्दीमा दुई घण्टा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । प्रहरीले भने थप अनुसन्धान र पोष्टमार्टमपछि युवतीको मृत्युको कारण खुल्ने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया