एमसीसीबारे सत्ता गठबन्धनभित्र मतभेद तिव्र
२८ श्रावण २०७८, बिहीबार ११:३२
काठमाडौं । अमेरिकी सरकारले नेपाललाई ५० करोड डलर आर्थिक सहयोग गर्ने भनिएको अमेरिकी सहायता परियोजना, मिलिनियम च्यालेन्ज कर्पोरेसन, (एमसीसी) परियोजनालाई प्रतिनिधिसभाबाट पास गर्नुपर्ने विषयमा सत्ता गठबन्धनमा तिव्र मतभेद देखिएको छ ।
सरकारले प्रस्तुत गरेको न्यूनतम साझा कार्यक्रममा पनि एमसीसी बारे कुनै उल्लेख गरिएको छैन । यस्तै गठबन्धनमा रहेका माओवादी केन्द्र तथा राष्ट्रिय जनमोर्चा एमसीसीको विपक्षमा छ । जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले एमसीसीको कुरा उठाए गठबन्धन नै छाड्ने चेतावनी दिएका थिए ।
प्रतिनिधिसभाको अघिल्लो बैठकमा पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे गठबन्धन किन नबोलेको भन्दै प्रश्न उठाएका थिए । उनले प्रधानमन्त्री शेर बहादुर देउवालाई सोधेका थिए – ‘प्रधानमन्त्री ज्यू एमसीसी के गर्नुहुन्छ ?’ यस विषयमा जनताले जान्न चाहेको भन्दै उनले जवाफ दिन माग गरेका थिए ।
यता विपक्षी दल र जनताले सरकारको धारणा माग गरिरहँदा गठबन्धनमै एमसीसीको कारण भाँडभैला हुने संकेत देखिएको छ ।
बुधबार भएको काँग्रेसको आन्तरिक बैठकमा एमसीसीबारे किन नबोलेको ? भन्दै उपसभापति विमलेन्द्र निधिले सभापति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवालाई प्रश्न सोधेका थिए ।
बूढानिलकण्ठस्थित देउवाको निजी निवासमा भएको आन्तरिक बैठकमा एमसिसी र सीमाबारेका विषयमाथि निधिले थप प्रष्ट हुनुपर्ने बताएका थिए।
‘एमसिसीको विषयमा किन न्युनतम साझा कार्यक्रम मौन छ?,’ निधिका भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘एमसिसी के गर्ने भन्नेबारे किन ठोस कुरा लेख्न सकिएन ?’
त्यसक्रममा प्रधानमन्त्री देउवाले एमसीसीबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नमानेको कारण साझा कार्यक्रममा राख्न नसकिएको बताएका छन् ।
जवाफमा देउवाले भने, ‘राख्न खोजेको हो । तर प्रचण्डले मानेनन् ।’
भेलामा काँग्रेस नेता जीवनबहादुर शाही पनि उपस्थित थिए । उनले पनि चीनले सीमा मिचिएको तथ्य झुटो सावित भए राजनीति छोड्ने बताए । तर देउवा भने यसबाट पन्छिने प्रयास गरे । ‘राख्न खोजेको हो, प्रचण्डले मानेनन्’, प्रधानमन्त्री देउवाको जवाफ थियो ।
स्रोतका अनुसार, निधि र शाहीले प्रश्न उठाएपछि महामन्त्री पूर्णबहादुर खड्काले आश्वस्त पार्न खोजेका थिए । उनले यसबारे सरकारले उच्चस्तरीय टोली नै बनाएर काम अगाडि बढाउने बताए ।
एमसीसीलाई संशोधन नगरी पास गर्न नहुने पक्षमा प्रचण्ड छन् । एमालेका केही नेताहरुपनि संशोधन गर्नुपर्ने अडानमा छन् । प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी ओली भने संशोधन नगरी पनि पास गर्न तयार छन् । यद्यपि ओलीले भने अहिले बोली फेरेका छन् । उनले केही दिन अघि भनेका थिए– ‘संशोधनसहित एमसीसी पास हुनुपर्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया