झापामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु
५ श्रावण २०७८, मंगलवार १२:१४
झापा । झापाको गौरादह नगरपालिकामा मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक वृद्धको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।
सोमबार साझ भएको दुर्घटनामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका गौरादह–३ का ७२ वर्षीय चेतबहादुर दाहालको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
अन्य घाइतेको दमक र विराटनगरका अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए ।
प्रहरीका अनुसार गौरादह बजार उत्तर सडकखण्डमा पैदल हिँडिरहेका दाहाललाई प्र१०१–०१२प५९९० नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
दुर्घटनामा दाहालसँगै रहेका गौरादह–३ का मोहन उप्रेती पनि सामान्य घाइते भएका छन् ।
ठक्कर दिने मोटरसाइकल चालक गौरादह–४ का २८ वर्षीय भरत रिजालको विराटनगरस्थित न्यूरो अस्पताल र त्यसमा सवार सोही वडाका २६ वर्षीय रविन पौडेलको भने लाइ फलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया