साउन महिनाको पहिलो सोमबार आज विशेष पूजा आरधना गरि मनाउँदै – Nagarikabhiyan : National News

साउन महिनाको पहिलो सोमबार आज विशेष पूजा आरधना गरि मनाउँदै

देवानगंज ।  आज साउन महिनाको पहिलो सोमबार भगवान शिवको विशेष पूजा आराधना गरि शिवभक्तहरुले व्रत बसेर मनाउँदै छन्। अघिल्लो वर्षझैँ यो वर्ष पनि कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउन खुकुलो भए पनि मठ मन्दिर बन्द नै रहेकाले दर्शनार्थी शिवालयहरुमा निकै कम गएका छन्।

तर बिहानैदेखि चोखो भएर शिवको विशेष आराधना भने भइरहेको छ। साउन महिनाको सोमबारलाई शिव भगवानको व्रत बस्नका लागि सर्वोत्तम दिन मानिन्छ।

सूर्य मिथुन राशीबाट कर्कट राशीमा प्रवेश गरेर दक्षिणायन सुरु भएको महिना साउन भगवान शिवको प्रिय महिना मानिन्छ। भगवान शिवले सूर्य र चन्द्र दुवैलाई धारण गर्नु भएकाले चन्द्रशेखर पनि भनिन्छ। चन्द्रशेखर भगवान शिवका हजार नाममध्ये एक हो।

भगवान शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउलगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा रहेको छ। यसो गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। तर अघिल्लो वर्षझैँ यो वर्ष पनि अधिकांश व्रतालूले घरमै बसेर आराधना गर्ने छन्।

साउने सोमबारको व्रत दाम्पत्य जीवन, पारिवारिक एवं सन्तान र परिवारको कल्याण तथा सुख शान्तिका लागि पुरुष महिला दुवैले गर्नुपर्ने शास्त्रीय वचन रहेको छ।

मानव शरीर पृथ्वी, जल, तेज, वायु र आकाश गरी पञ्चत्वले बनेको छ। यसमध्येमा पृथ्वी तत्व शरीरमा धेरै हुन्छ। यसैले पृथ्वीमा हरियाली छाएका बेला मानिसले पनि हरियो पहिरन लगाएर साउने सोमबार मनाउने गर्छन्। यसो गरेमा प्रकृतिसँगको तादात्म्यता प्राप्त हुने धार्मिक विश्वाससमेत छ।

यता आज सुनसरीको देवानगंज शिव मन्दिर, हरिनगरको मिथलेश्वर धाम, बासुकि नाथ मन्दिर, इनरुवाको शिव मन्दिर, धरानको पिण्डेश्वर धाममा सामान्य अवस्थामा धेरैनै भिड भाड हुने गरेकोमा यो वर्ष कोरोना भाइरसको महामारीका कारण लागु भएको लकडाउन र मानिसहरु भेला हुन नपाउने सरकारी नियमका कारण सर्वसाधारणहरु लाई पूजा गर्न सक्स भएको देवानगंज का स्थानियहरुले गुनासो पोखेका छन् ।