जसपाको पार्टी कार्यालयबाट हटाइयो महन्थ ठाकुर र राजेन्द्र महतोको ‘नेम-प्लेट’
१८ असार २०७८, शुक्रबार १८:४५
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को बालकुमारीस्थित पार्टी कार्यालयबाट अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको नेम प्लेट हटाइएको छ। दुई अध्यक्षहरू महन्थ ठाकुर र उपेन्द्र यादवबीच चुलिएको विवादका कारण जसपा विभाजनको तहमा पुगेको बेला दुई शीर्ष नेताको नेम प्लेट हटाइएको हो।
पार्टी एकतापछि बनेको बालकुमारीस्थित पार्टी कार्यालयमा ठाकुर र महतो बस्ने कोठा बाहिर रहेको नेम प्लेट हटाइएको छ। कार्यालयको भुईँ तल्लामा ठाकुरको कार्यकक्ष छ भने पहिलो तल्लामा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको कार्यकक्षको विपरीत कोठामा महतोको कार्यकक्ष छ।
अन्य सबै नेताहरूको कार्यकक्ष बाहिर नेम प्लेट यथावत् रहे पनि ठाकुर र महतोको हटाइएको छ। कार्यालयको दोस्रो तल्लामा अध्यक्ष उपेन्द्र यादव र कार्यकारिणी सदस्य अशोक राईको कार्यकक्ष छ। दुवै नेता बस्ने कोठा बाहिर उनीहरूको नेम प्लेट यथावत् छ। यसै गरी पहिलो तल्लामा सङ्घीय परिषद् अध्यक्ष भट्टराई र नेता महेन्द्रराय यादवको कार्यकक्षमा नेम प्लेट यथावत् रहेको छ।
पार्टीमा विवाद सुरु भएपछि ती नेम प्लेट हटाइएको जसपाका एक नेताले बताए। ‘उहाँहरू आउन छोड्नु भएको छ। कहिल्यै यता आउनु हुँदैन,’ ती नेताले भने, ‘पाटीभित्र विवाद पनि भइरहेको छ। उहाँहरू आउन पनि छोड्नु भएको। कार्यकर्ताहरूले नेम प्लटे हटाइ दिएका छन्।’
राजपा र समाजवादी पार्टी एकीकरण पूर्व बालकुमारीमा समाजवादी पार्टीको कार्यालय सञ्चालन हुँदै आएको थियो। दुवै पार्टीको एकीकरणपश्चात् बालकुमारीमै जसपाको कार्यालय कायम गरिएको थियो। पछिल्लो समय पार्टीभित्र विवाद चुलिएपछि अध्यक्ष ठाकुर बबरमहलस्थित पूर्वराजपाको पार्टी कार्यालयबाट पार्टी गतिविधि सञ्चालन गर्दै आइरहेका छन्।
लोकपाटी न्यूज

फेसबुकबाट तपाईको प्रतिक्रिया