आज मदन भण्डारीको ७०औं जन्मजयन्ती मनाइँदै
१४ असार २०७८, सोमबार ०९:५२
काठमाडौँ । तत्कालीन नेकपा एमालेका महासचिव ‘जननेता’ मदन भण्डारीको ७०औं जन्मजयन्ती आज मनाइँदैछ । मदनजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले विविध सचेतनामूलक कार्यक्रमहरूको आयोजना गर्दै आएको छ ।
तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा निधन भएको थियो । भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो ।
कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गराउन ‘जनताको बहुदलीय जनवाद’ को सैद्धान्तिक कार्यक्रम ल्याएका भण्डारीको विशेष योगदान रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया