सांसदहरु बँधुवा मजदुर होइनन्ः वरिष्ठ अधिवक्ता खरेल
१३ असार २०७८, आईतवार १४:२७
काठमाडौँ । प्रतिनिधिसभा विघटनको मुद्धामा तर्क गर्दै वरिष्ठ अधिवक्ता शतिषकृष्ण खरेलले बहुदलीय व्यवस्थामा सांसदलाई दलले बँधुवा मजदुरलाई जस्तो नियन्त्रणमा राख्न नसक्ने बताउनुभयो ।
आइतबार बहसको क्रममा उहाँले भन्नुभयो, ‘बहुदलीय व्यवस्था भन्दै सांसद बँधुवा मजदुरजस्ता हुन सक्दैनन् ।’
प्रतिनिधिसभाका सदस्यले लिखित रूपमा समर्थन छ भनीसकेपछि विश्वासको मत पाउने आधार पुग्ने बताउँदै उहाँले भन्नुभयो, ‘बहुमत सांसदले देउवालाई प्रधानमन्त्री बनाउनु पर्छ भनेर हस्ताक्षर दिएका छन् । ७६ (५) बमोजिम विश्वासको मत पाउनु पर्छ भन्ने आधार पेश गर्ने हो, लिखित रूपमा मेरो समर्थन छ शेरबाहदुर देउवालाई भनिसकेपछि त आधार त पुग्यो नी !’
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक रुपमा राजीनामा नगरे पनि उहाँ पदमुक्त भएको खरेलको जिकिर छ । ‘शेरबहादुरले आफ्नो दावीलाई पुष्टि गरेको देखिन्छ,’ खरेलले भन्नुभयो, ‘धारा ७६ (५) अनुसार विश्वासको मत पाउन सकिने एउटा आधार भनेको दलका सदस्यहरुको सहमति लिएर दलको नेता जान सक्छ तर, सांसदहरुको सहमतिबिना दलको नेता राष्ट्रपतिकहाँ जान मिल्दैन ।’
ह्वीप उल्लंघन गरेर दिएको भोटको मान्यता हुँदैन भनेर विश्वका कुनै पनि संविधानले नभनेको खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ह्वीप उल्लंघन गरेर दिएको भोटले मान्यता पाएका पर्याप्त उदाहरण छन् ।’ ज्योतिन्यूज

फेसबुकबाट तपाईको प्रतिक्रिया