प्रचण्डले भने- ‘राष्ट्रपतिको बारेमा त बोल्न पाइँदैन भन्ने केपी ओली को हो?’ – Nagarikabhiyan : National News

प्रचण्डले भने- ‘राष्ट्रपतिको बारेमा त बोल्न पाइँदैन भन्ने केपी ओली को हो?’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्या भण्डारीको बारेमा बोल्ने पाईन्न भन्ने त्यो केपी ओली को हो भन्दै प्रश्न गरेका छन् । उनले राष्ट्रपति प्रधानमन्त्री ओलीको रबर स्ट्याम्प बनेको भन्दै त्यसको विरोध गर्दा केपी ओलीले धम्क्याएको बताए।

आज (शनिबार) विपक्षी गठबन्धनले बानेश्वरमा गरेको पत्रकार सम्मेलनमा उनले पार्टी एकता भएको अवस्थामा केपी ओलीले सम्झौता कार्यान्वयन नगरेको बताए । ‘केपी ओलीसँग भएका सम्झौतामा अडिग नहुनु मेरो कमजोरी हो,’ उनले भने, ‘मेरो मन अलि उद्धार र कमलो छ, भर्खरै एकता भाको पार्टीमा किन झगडा निम्त्याउनु भनेर मैले छाडिदिएको हो ।’ सम्झौतामा हस्ताक्षर गरेको विषय केपी ओली मान्न तयार नभएको उनले बताएका छन् । उनले भने, ‘सम्झौतामा सही गरिसकेको छ,’ उनले भने, ‘मान्दैनन्, अब मैले के गरौं ?’

अध्यक्ष प्रचण्डले अहिले संविधानमाथि निरंकुश प्रहार गरिएको बताएका छन् । देशलाई अप्ठ्यारोमा धकेल्ने प्रयास भइरहेको उनको भनाइ छ । उनले शासन सञ्चालन गर्नेहरुबाट संविधान मिच्ने काम भएको बताए । राष्ट्रिय स्वाधीनतामाथि पनि खेलबाड भएको उनले उल्लेख गरे । ठूलो संघर्ष र बलिदानबाट बनेको संविधानको रक्षा गर्न आफूहरुको गठबन्धन अघि बढेको उनले बताए । गठबन्धन मुद्दामा आधारित भएको भन्दै उनले आफूहरुको कुनै स्वार्थ नभएको स्पष्ट पारेका छन् । आफूहरुको लडाइँ प्रधानमन्त्रीको निम्ति नभएको पनि उनले बताए ।

अध्यक्ष प्रचण्डले राष्ट्रपतिले गरेको क्रियाकलापलाई अदालतले सच्याउन सक्ने बताएका छन् । उनले राजा ज्ञानेन्द्रले बनाएको शाही आयोग खारेज गरेर लोकतन्त्रको पक्षमा उभिएको अदालतलाई राष्ट्रपतिको बारेमा अदालतमा बहस गर्न पाइँदैन भन्न नपाइने बताए ।

‘ज्ञानेन्द्रकै शासन हुँदा पनि शाही आयोग खारेज गरिदिएको होइन अदालतले ?,’ उनले भने, ‘राजाले बनाएको आयोग भङ्ग गरेर लोकतन्त्रलाई साथ दिने अदालतलाई अहिले राष्ट्रपतिको बारेमा त बोल्न पाइँदैन रे, हु हिज केपी ओली ?’ अध्यक्ष प्रचण्डले आफूले राष्ट्रपति फालेर राजा ल्याउने नभनेको स्पष्ट पार्दै विद्यादेवी भण्डारी राजाभन्दा बढी हुन खोजेको आरोप लगाए । उनले पत्रकारहरूलाई खराब प्रवृत्तिको विषयमा दृढ भएर काम गर्न पनि आग्रह गरे ।