प्रधानमन्त्रीको अफर आएपनि गठबन्धनलाई धोका दिदैनौं : माधवकुमार नेपाल – Nagarikabhiyan : National News

प्रधानमन्त्रीको अफर आएपनि गठबन्धनलाई धोका दिदैनौं : माधवकुमार नेपाल

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुको लडाइँ केपी शर्मा ओलीविरुद्ध नभएको बताएका छन् । आफूहरुको लडाइँ केपी ओली प्रवृत्तिविरुद्ध भएको उनको भनाइ छ ।

विपक्षी गठबन्धनले शनिबार नयाँ बानेश्वरमा गरेको अन्तरक्रिया कार्यक्रममा नेता नेपालले ओलीले पटक–पटक गलत कदम चालेको आरोप लगाए । ओलीमा सत्ता, शक्तिको मात चढेको जिकिर उनले गरे ।

ओलीका क्रियाकलापले लोकतन्त्र नै धरापमा परेको उनले उल्लेख गर्दै उनले आफू ओलीबाट पटक–पटक धोका पाएको दाबी गरे ।
नेपालले आफूहरुले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिने पनि स्पष्ट पारे ।

नेता नेपालले प्रधानमन्त्रीको प्रस्ताव आए पनि आफूले गठबन्धनलाई धोका नदिने बताउँदै भने, ‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आइसक्यो । तर म धोका दिने मान्छे होइन । हस्ताक्षर फिर्ता हुँदैन ।’

आफूहरु एमालेको विद्रोही पक्ष भएको भन्दै नेपालले अहिलेको लडाइँ केपी ओली प्रवृत्तिविरुद्ध भएको उल्लेख गरे ।