सर्लाहीमा जेसिबीको बकेटले हानेर वडाध्यक्षको हत्या
१२ असार २०७८, शनिबार १५:११
जनकपुरधाम । सर्लाहीमा जेसिबीको बकेटले हानेर एक वडाध्यक्षको हत्या भएको छ।
ईश्वरपुर नगरपालिका वडा नम्बर ३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
भक्तिपुरमै रहेको खलाल दास पोखरीको स्तरोन्नति कार्य भइरहँदा शुक्रबार वडाध्यक्ष श्रेष्ठ निरीक्षण गर्न पुगेका थिए । सो पछि राति डोजर (जेसिबी) चालकसँग विवाद भएकाे र चालकले जेसिबीको बकेटले हानेर उनको हत्या गरेको सर्लाही प्रहरीको भनाइ छ ।
शुक्रबार राति अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक रविन भन्ने हर्कबहादुर तामाङले नजिकैको होटलमा सँगै खाजा खाएको प्रहरीले बताएको छ।
खाजा खाएर फर्किने क्रममा राति करिब १० बजे चालक तामाङले वडाध्यक्ष श्रेष्ठसँग विवाद हुँदा बकेटले हानेको सर्लाहीको प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताउनुभयो ।
बकेटले हानेर लडाएपछि माटोले पुरेको देखिएको एसपी राठौरले बताउनुभयो । घटनाबारे जानकारी पाउनासाथ तत्कालै प्रहरी टोली घटनास्थलमा पुग्दा वडाध्यक्ष श्रेष्ठ अचेत अवस्थामा फेला परेकाले जिल्ला अस्पताल मलंगवा पु¥याइएको थियो। त्यहाँ चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर–३ का ३५ वर्षीय पे्रमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका–१ हजरियाका ३८ वर्षीय हर्कबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ।
दाहाललाई घटना लगत्तै नियन्त्रणमा लिइएको र फरार रहेका जेसिबी चालक तामाङलाई शनिबार बिहान लालबन्दीबाट पक्राउ गरिएको एसपी राठौरले जानकारी दिनुभयो।
उनीहरु दुवैलाई जिल्ला प्रहरी कार्यालय मलंवाको हिरासतमा राखिएको छ। मृतक ५५ वर्षीय वडाध्यक्ष श्रेष्ठको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया