परराष्ट्रमन्त्रीबाट हटेलगत्तै ज्ञवालीले गरे सम्पत्ति सार्वजनिक – Nagarikabhiyan : National News

परराष्ट्रमन्त्रीबाट हटेलगत्तै ज्ञवालीले गरे सम्पत्ति सार्वजनिक

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले परराष्ट्रमन्त्री पदबाट हटेलगत्तै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञवालीलाई हटाएर रघुवीर महासेठलाई परराष्ट्रमन्त्री बनाएका थिए । त्यसपछि ज्ञवालीले सामाजिक सञ्जालमार्फत करिब सवा ३ वर्ष परराष्ट्रमन्त्रीका रुपमा काम गर्दा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आफ्नो सम्पत्ति विवरण पनि सार्वजनिक गरेका हुन् ।

उनले विदेश भ्रमण बापतको लेभी ३,१४,९३०। र पारिश्रमिक बापतको लेभी ६,२०,०००। गरी जम्मा ९,३४,९३०। पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१।१३ सरकारी कोषमा दाखिला भएको जानकारी दिएका छन् ।
त्यस्तै हाल उनको खातामा ७,४१,७७५।६० बचत रहेको र केही घरायशी सामान एवं दुई सय जति पुस्तक थपिनु बाहेक मन्त्री बनेलगत्तै सार्वजनिक सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी पनि उनले गराएका छन् ।

मन्त्री हुँदा आफूले प्रयोग गर्दै आएको गाडी र ल्यापटप शुक्रवार नै बुझाएको भन्दै ज्ञवालीले शनिवार नै मन्त्री निवास छोड्ने जानकारी पनि दिनुभएको छ । उहाँले मन्त्री रहँदा साथसहयोग गर्ने सबैलाई धन्यवाद पनि दिनुभएको छ ।