भारतमा फेरि भयानक चक्रवात बन्दै, नेपालमा पनि हावाहुरी र भारी वर्षा हुने
९ जेष्ठ २०७८, आईतवार ०७:५७
एजेन्सी । भारतमा फेरि शक्तिशाली चक्रवात बन्न थालेको छ । ताउते नामको अति शक्तिशाली चक्रवातले धनजनको क्षति गरेको हप्ता दिन नबित्दै बंगालको खाडीको मध्यपूर्वी भागमा दबाब क्षेत्र बन्न सुरु गरिसकेको छ।
भारतीय मौसम विभागका अनुसार यो यही मे २४ तारिखसम्म तीव्र वेगको चक्रवातमा परिणत हुने सम्भावना छ। जसलाई यास भनेर नामकरण गरिएको छ। ‘यास उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै शक्तिशाली चक्रवातमा परिणत हुनेछ।
यो मे २६ साूँझसम्म बंगाल वा ओडिसाका तटीय क्षेत्र हुँदै बंगलादेशबाट अगाडि बढ्नेछ,’भारतको मौसम विभागले शनिबार ट्विट गर्दै चेतावनी दिएको छ । यसअघि भारतको गुजरातमा बज्रेको ताउते चक्रवातको प्रभाव नेपालमा पनि परेको थियो। जसले यहाँ भारी वर्षा तथा हिमपात गराएको थियो। यास चक्रवातले समेत नेपालमा प्रभाव पार्ने मौसमविदहरु बताउँछन् ।
चक्रवातको प्रभावले नेपालमा समेत केही स्थानमा हावाहुरी तथा भारी वर्षा हुने मौसमविदको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया