बैंक तथा वित्तीय संस्थाहरु एक हप्ता बन्द
६ जेष्ठ २०७८, बिहीबार १४:३८
राजविराज । सप्तरी जिल्लामा कोरोना संक्रमण भयावह बन्दै गएइरहेको भन्दै आजदेखि बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले आज एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरु करिब एक हप्ताका लागि बन्द गर्न निर्देशन दिनुभएको छ ।
जिल्ला प्रशासन कार्यालयले सप्तरीमा गत वैशाख २३ गतेबाट जारी गरिएको निषेधाज्ञा अहिले पनि यथावथ नै रहेको छ ।
प्रजिअ पोखरेलका अनुसार जिल्लाको बिभिन्न नगरपालिका तथा गाउँपालिकामा संक्रमण दर बढेपछि बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द गराउनु परेको बताउनुभयो ।
यस्तै प्रत्येक कार्यालयले आफूसँग भएको सवारी साधन र चालक कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणमा प्रयोग हुनसक्ने गरी तयारी हालतमा राख्न पनि उहाँले निर्देशन दिनुभयो ।
त्यस्तै जिल्लाका प्रत्येक कार्यालयलाई आ–आफ्नो निकायगत जिम्मेबारी बाहेक कोभिड १९ को महामारी रोकथाम र नियन्त्रणमा के कस्तो भूमिका खेल्न सकिन्छ भन्ने कुराको तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयको इमेलमा पनि पठाउन भनिएको छ ।
यद्यपी बन्द अवधिमा औषधी उपचार,स्वास्थ्य सामग्री , काजक्रिया तथा अतिआवश्यक कामका लागि सेवा दिने बैंक तथा वित्तीय संस्थाहरुले दिएको ब्यक्तिगत नम्बरमा सम्पर्क गरेर उक्त समस्या समाधान हुने ब्यवस्था समेत मिलाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया