प्रधानमन्त्री ओलीलाई कारवाही गर्न माग गर्दै निर्वाचन आयोगमा काँग्रेसको उजुरी – Nagarikabhiyan : National News

प्रधानमन्त्री ओलीलाई कारवाही गर्न माग गर्दै निर्वाचन आयोगमा काँग्रेसको उजुरी

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कारवाही गर्न निर्वाचन आयोगमा उजुरी दर्ता गरेको छ ।

प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीका लागि संसदीय दल कार्यसमितिको बुधबारको बैठकको निर्णय अनुसार विहीबार विहान निर्वाचन आयोगमा काँग्रेसले उजुरी दर्ता गराएको हो ।

काँग्रेस संसदीय कार्यसमिति बैठकले निर्वाचन आचारसंहिता विपरित वक्तव्य दिने प्रधानमन्त्री ओली र मन्त्री श्रेष्ठलाई निर्वाचन आयोगले कारबाही गर्नुपर्ने ठहर पनि गरेको थियो । प्रधानमन्त्री ओलीले बुधबार निर्वाचन आचारसंहिताविपरीत मौन अवधिमा राष्ट्रिय सभा उपनिर्वाचनका एमाले उम्मेदवार रामबहादुर थापा बादलका लागि मत माग्नुभएको थियो ।

यस्तै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पनि निर्वाचन आचारसंहिताविपरीत बुधबार साँझ राष्ट्रिय सभा उपनिर्वाचनमा एमाले उम्मेदवार थापाको पक्षमा अपिल जारी गर्नुभएको थियो ।

काँग्रेस संसदीय दलको कार्यालयका अधिकृत विजयेन्द्र वीर आलेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७२ को दफा ५ घ (३) र (५) र दफा (६) विपरीत कार्य गर्ने जो कोहीलाई कारवाही गर्न यो बैठक जोडदार माग गर्दछ ।’

ज्योतिन्यूज