वार्तापछि पौडेलको प्रतिक्रिया, ‘राजीनामा नाटक मात्र हो’
२६ बैशाख २०७८, आईतवार १७:०७
काठमाडौं। सत्तारुढ नेकपा एमालेको विवाद समाधानका लागि दुवै पक्षबीच सिंहदरबारमा भएको भेला विनानिष्कर्ष टुंगिएको छ। संसद सचिवालयस्थित राज्यको निर्देशक सिद्धान्त समितिकी सभापति निरुदेवी जैरुको कार्यकक्षमा दुवै पक्षबीच छलफल भएको थियो।
छलफलमा वरिष्ठ नेताहरु माधवकुमार नेपाल तथा ओली पक्षबाट विष्णु पौडल र सुवास नेम्वाङ सहभागी थिए। प्रधानमन्त्री केपी ओलीको निर्देशनपछि नेता नेम्वाङले वार्ताका लागि नेपालसँग समय मागेका थिए। सोहीअनुसार दुवै पक्षबीच छलफल भएको थियो। छलफलपछि अर्थमन्त्रीसमेत रहेका नेता विष्णु पौडेलले नेपाल पक्षका सांसदहरूले राजीनामा दिने कुरा आफूले नपत्याउने बताए।
कोही सांसदले राजीनामा दिनेजस्तो कुरा आफूलाई विश्वास पनि नलागेको उनले बताए। माधव नेपालहरूले राजीनामा दिन लाग्नुभएको हो भन्ने पत्रकारहरूको प्रश्नमा जवाफ दिएका पौडेलले भने, ‘मलाई विश्वास लाग्दैन। म त्यो कुरो पत्याउँदिनँ।’
नेता नेपालसँग भेटेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले नेता नेपालसँग खुलस्त रूपमा कुराकानी गरेको बताए। ‘पार्टी एकता बलियो बनाएर लैजानुपर्छ भन्नेमा विवाद छैन,’ उनले भने, ‘समस्या कसरी समाधान गर्ने र टुंगोमा पुर्याउने भन्नेमा हामी सबैको चिन्ता छ।’
उनले छिटै समस्या समाधान गरिने पनि बताए। ठोस रूपमा समस्या समाधान गर्ने गरी फेरि बैठक बस्ने उनले बताए। नेपाल पक्षले हातमा राजीनामा पत्र लिएर बसेकोबारे आफूलाई थाहा नभएको नेम्वाङको भनाइ छ।लोकपाटी न्यूज

फेसबुकबाट तपाईको प्रतिक्रिया