ठाकुर–महतोले भने, ‘हामी केपी ओलीलाई विश्वासको मत दिन सक्दैनौँ’
२६ बैशाख २०७८, आईतवार १२:४७
काठमाडौं। जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने बताएका छन्। आइतबार बालुवाटारमा पुगेर ठाकुर र महतोले प्रधानमन्त्री ओलीसँग विश्वासको मत दिन नसक्ने जानकारी गराएका हुन्।
आफूहरुको सबै माग सम्बोधन नभएकाले विश्वासको मत दिन नसकिने ओलीलाई जनाकारी दिएको राजेन्द्र महतोले बताए। आफूहरु तटस्थ बस्ने महतोले बताए। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिँदै छन्।
जसपाले अहिलेसम्म कसैलाई समर्थन गर्ने निर्णय नगरेको पनि उनले स्पष्ट पारेका छन्।जसपामा ओलीको निरन्तरताको पक्षमा देखिएका ठाकुर र महतोले यतिबेला पार्टी एकता कायम राख्न तटस्थ बस्ने नीति अख्तियार गर्नुपर्ने पक्षमा उभिएका छन्। जसपा अध्यक्ष उपेन्द्र यादव ओली सरकारको विपक्षमा उभिएका बेला उनीहरुले बीचको बाटोमा जानुपर्ने बताइरहेका छन्।
आज बिहान काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर पनि उनीहरुले तत्काल वैकल्पिक सरकारको सम्भावना नरहेकाले निर्वाचनमा जानु उपर्युक्त हुने देउवालाई सुझाव दिएका थिए। अध्यक्ष ठाकुरले सबै दलहरु मिलेर निर्वाचनको माहोल बनाउनुपर्ने बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया