कोरोना विशेष अस्पताल मृत्यु प्रकरण : शव उठाउन ११ दिनपछि परिवार राजी
२६ चैत्र २०७६, बुधबार १०:३५
२६, चैत बुटवल । बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ज्यान गुमाएका बाबुराम थापाको शव बुझ्न परिवारका सदस्य सहमत भएका छन् ।
प्रदेश ५ को समाजिक विकास मन्त्रालयमा बुधबार आयोजित सर्वपक्षीय बैठकबाट परिवारका सदस्यको माग सम्बोधन गर्ने सहमति जुटेसँगै परिरवार शव उठाउन राजी भएका हुन् ।
त्यसैगरी, बाबुरामका २ छोरालाई उच्च शिक्षासम्म पठनपाठन र श्रीमती रीता थापा क्षेत्रीलाइ सैनामैनाको स्थानीय सरकारले रोजगारी दिने लिखित सहमति जुटेको सभासद् विनोद पहाडीले बताए ।
दुबईबाट चैत्र पहिलो साता नेपाल फर्किएका थापा उपचारका लागि चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए । अस्पतालमा भर्ना भएको चौथो दिन चैत १६ गते धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा उनको ज्यान गएको थियो ।
उनको मृत्यु भएको दिन मात्रै स्वाब परीक्षणका लागि पठाइएको थियो भने दोस्रो दिन मात्रै रिपोर्ट नेगेटिभ आएको थियो । तर, परिवारले उपचारमा लापरबाही भएको भन्दै शव बुझ्न मानेका थिएनन् । क्षतिपूर्तिलगायतका माग उनीहरूले अघि सारेका थिए ।
स्रोत: अनलाइनखबर

फेसबुकबाट तपाईको प्रतिक्रिया