माधव नेपाल समूहलाई ठुलो झटका, पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने एमालेको निर्णय – Nagarikabhiyan : National News

माधव नेपाल समूहलाई ठुलो झटका, पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने एमालेको निर्णय

काठमाडौँ ।  नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले एमालेको स्पष्ट बहुमत भएकोले मुख्यमन्त्री पदबाट राजीनामा दिएका संसदीय दलका नेता शंकर पोखरेलकै नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै एमाले संसदीय दलको बैठक बसेको थियो । सो बैठकले पोखरेलकै नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको हो ।

पोखरेलको आजै नियुक्ती र शपथ हुने सम्भावना रहेको जनाइएको छ ।

प्रदेश प्रमुखले आजै नयाँ सरकार गठनको आह्वान गर्ने र एमालेले बहुमत प्राप्त दलको हैसियतमा नाम पठाएपछि पोखरेलले मुख्यमन्त्री पदको सपथ ग्रहण गर्ने तयारी भइरहेको एक नेताले बताएका छन् ।

संसदीय दलको बैठकमा एमालेको माधवकुमार नेपाल समूहका दुई जना सांसदहरू पनि सहभागी भएका थिए ।

वैशाख ६ मा विपक्षी दलहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि हठात् प्रदेश सभा अधिवेशन अन्त्य गर्नुभएका मुख्यमन्त्री पोखरेलले प्रदेश सभाको विशेष अधिवेशन सुरू हुने दिन बिहानै राजीनामा बुझाएका थिए।

८७ जना सांसद रहेको लुम्बिनी प्रदेश सभामा अहिले ८१ जना मात्र सांसद छन् । माओवादीबाट २ जना र जसपाबाट ४ जना निलम्बनमा परेसँगै ८१ सदस्यीय भएको हो । प्रदेशमा एमालेका ४१ जना सांसद रहेको कारण एमालेलाई नयाँ सरकार गठन गर्न स्पष्ट बहुमत पुगेको छ ।