लकडाउनलाई प्रभावकारी बनाउन आजदेखि यसरी हुदैछ थप कडाइ – Nagarikabhiyan : National News

लकडाउनलाई प्रभावकारी बनाउन आजदेखि यसरी हुदैछ थप कडाइ

काठमाडौँ : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि थप कडाई गरिने भएको छ । कोरोना (कोभिड–१०) रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाइ गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

शनिवार काठमाडौंका सडकमा अनुगमन गर्न निस्केको प्रमुख जिल्ला अधिकारीको टोलीले निषेधाज्ञा प्रभावकारी रहेको निष्कर्ष निकालेको छ । बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले आइतबारदेखि जारी निषेधाज्ञामा थप कडाई गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।

उनले शनिवार सडकमा गाडी कम भएपनि बैंक तथा वित्तीय संस्था सञ्चालन हुँदा सडकमा सवारी चाप बढेको पाइएकाले आजदेखि थप कडा गर्ने बताए । प्रजिअ पराजुलीले सरकारी कर्मचारी संख्या कटौती गर्ने र गाडी कम चलाउन लगाउने समेत जानकारी दिए । शनिवार तथा सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन गुडे त्यसलाई होल्ड गरिने पनि उनले बताए ।