कोरोनाविरुद्धको खोप अभियान किन भयो काठमाडौमा स्थगित ?
१६ बैशाख २०७८, बिहीबार ०९:१६
काठमाडौं। कोरोनाविरुद्धको खोप लगाउने अभियान तत्कालका लागि स्थगित गरिएको छ। जिल्ला स्वास्थ्य कार्यलय काठमाडौले विज्ञप्ति मार्फत् तत्कालका लागि खोप अभियान स्थगित गर्ने जनाएको हो।
काठमाडौंमा कोरोनाविरुद्धको खोप अभियान निरन्तर संचालन गर्ने भनिए पनि अब सो खोप लगाउने कार्य केही समयको लागि बन्द गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
कोरोना संक्रमण नियन्त्रण गर्नका लागि उपत्यकामा निषेधाज्ञा गरिएकाले खोप अभियान स्थगित गरिएको कार्यालयले जनाएको छ। दोस्रो चरणको खोप अभियानअन्तर्गत चैत २५ गतेदेखि चिनियाँ अनुदानको कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु गरिएको थियो।
यो खोप १८ वर्षदेखि ५९ वर्ष उमेरका नागरिकलाई दिइएको थियो। चीनले भेरोसेल खोप नेपाललाई आठ लाख डोज अनुदानमा दिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया