गण्डकी प्रदेश सभाका तीन जना सांसदलाई कोरोना संक्रमण पुष्टि – Nagarikabhiyan : National News

गण्डकी प्रदेश सभाका तीन जना सांसदलाई कोरोना संक्रमण पुष्टि

कास्की । गण्डकी प्रदेश सभाका तीन जना सांसदलाई कोरोना संक्रमण देखिएको छ । मंगलबार स्वाव संकलन गरिएका सांसदहरु मध्य ३ जना सांसदलाइ कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा बिनोद विन्शु शर्माले जानकारी दिनुभयो । “ तीन जनालाइ कोरोना संक्रमण देखिएको छ अहिले नाम सार्वजनिक गर्न मिल्दैन् उहाँले भन्नुभयो ।

गण्डकी प्रदेश सभाको मंगलबारको बैठक अवरुद्ध भएपछि सांसदहरुको कोरोना परीक्षण गरिएको थियो । बैठकमा एमालेका सांसदहरुले कोरोनाको महामारी फैलिएको अवस्थामा कोरोना परीक्षण नगरी संसद राखिएको भन्दै बैठक चल्न दिएका थिएनन् । सांसद राजीव पहारीले कोरोना परीक्षणविना बैठक राखिन नहुने तर्क राख्नु भएको थियो ।

सभामुखले बैठक स्थगित गरेपछि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले सांसदहरुको मंगलबार नै कोरोना परीक्षण गर्ने निर्णय गरेको थियो । कोरोना परीक्षणमा पोजेटिभ देखिने सांसदले सदनमा बोल्न नपाउने तर अविश्वास प्रस्तावमा मत हाल्न पाउने गरी समितिले निर्णय गरेको हो । बुधबार सांसदहरुको कोरोना परीक्षणको नतिजा आएपछि दिउँसो १ बजे बस्ने गरी सदन बोलाइएको छ ।