चट्याङ पर्दा लिखु गाउँपालिका अध्यक्ष र वडाध्यक्षका घर ध्वस्त
३ बैशाख २०७८, शुक्रबार ११:३६
ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिका-८ मा गएराति चट्याङ पर्दा गाउँपालिका अध्यक्ष गोविन्द पौडेल र वडाध्यक्ष विशाल पौडेलका तीनवटा घर ध्वस्त भएका छन् । ठूलो हावाहुरीपछि मध्यराति १ बजे चट्याङ घरमा परेपछि तीनवटा घर ध्वस्त भएको हो ।
चट्याङ परेपछि बिजुलिको तार सट भएर कोठाबाट आगो लागेको वडाध्यक्ष पौडेलले बताए । मानवीय क्षति नभएपनि भौतिक क्षति ५० लाखभन्दा बढी भएको वडाध्यक्ष पौडेलले बताए ।
टारकेराबारीस्थित गाउँपालिका अध्यक्ष र उनको सहोदर भाइ सोही वडामा अध्यक्ष विशालको घर एल आकारमा जोडेर बनाइएको थियो । उनीहरुको त्यो घरसँगै भुकम्पपछि बनेको अर्को एउटा नयाँ घर समेत चट्याङबाट क्षतिग्रस्त भएको छ ।
उक्त घरमा मान्छे नबस्ने भएकाले मानवीय क्षति भएको छैन । तर गाउँपालिका अध्यक्ष पौडेललको बुहारीको भने भागदौडको कारण खुट्टा फ्याक्चर भएको वडा अध्यक्ष विशाल कुमार पौडेलले बताए । अध्यक्ष गोविन्द पौडेल भने गाउँपालिका केन्द्र यसममा बस्ने गरेका छन् ।
चट्याङपछिको आगलागीले घर भित्र रहेको नगद जिन्सीलगायत सबै भौतिक सामाग्रीहरु चलेर नष्ट भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया