सार्वजनिक सुनुवाई सम्पन्न
३१ चैत्र २०७७, मंगलवार १३:१९
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोग, मानव अधिकार समूहको समन्वय र कोशी गाउँपालिकाको संयोजनामा कोशी गाउँपालिकामा चैत ३० गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमासार्वजनिक सुनुवाई सम्पन्नभएको छ ।
सम्पन्न कार्यक्रममा दारुल उलुम मदर्शाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रवेज आलमले मदर्शाहरु अझै पनि सरकारी उपेक्षा परेको, कक्षा ८ माथि मुस्लिम छात्राहरु पठन नपाएको, सरकारले विद्यालयमा सेनेटरी प्याड निशुल्क उपलब्ध गराउने भने पनि प्रयाप्त नदिएको र मदर्शामा ल्यसको कुनै कार्यक्रम नआएको , शिक्षकहरुमा पेशागत नैतिकताको अभाव देखिएको गुनासो तथा प्रश्न राख्नुभयो । 
आलमले सामुदायिक विद्यालयका छात्रालाई एक पटक महिनावारी हुँदा एउटा मात्र प्याड दिने गरेको र त्यसपछि नदिएको गुनासो समेत पोख्नुभयो । सरकार स्वास्थ्य संस्था र विद्यालयमा बजेट बढेर आएपनि गुणस्तरमा कुनै सुधार नआएको अर्का सहभागी अभिभावक विद्यान्दन यादवले गुनासो गर्नुभयो । एकमुष्ट अनुदान पाएका विद्यालयहरुले पारिवारीक रुपमा विद्यालय संचालन गरेको यादवको भनाई थियो ।

त्यसैगरी शिक्षक रामकुमार यादवले विद्यालयमा भौतिक पूर्वाधार अभाव रहेको, स्वास्थ्य सेवा प्रभावकारी नभएको, गुनासो सुनुवाई गर्न गाउँपालिकाले चासो नदेखाएको, बाल समूह गठन गर्ने, जुनियर रेडक्रस सर्कल गठन नभएको र विद्यालयमा सरकारी अनुगमन नभएको गुनासो राख्नुहुदै अनुमगन बढाउनुपर्ने सुझाव दिनुभयो ।
त्यसैगरी अधिकारकर्मी चन्द्रकला नेपालले धेरैजसो सरकारी सूचनाहरु नगरिकसम्म नपुगेको गुनासो गर्नुुहदै स्वास्थ्य संस्था र विद्यालयमा खानेपानीको अभाव, सरसफाईको कमी, शिक्षक र स्वास्थ्यकर्मीको बेवास्ता बढेको गुनासो गर्नुभयो ।
पत्रकार मुस्ताक आलमले उच्च शिक्षा र मावि पढ्ने विद्यालय गाउँमा नहुदाँ मधेसी तथा मुस्लिम छात्राहरू विद्यालय आउन नसकिरहेको गुनासो गर्दै शिक्षाका लागि थप कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो ।
यस्तै सहभागी हतिमुल्ला मियाँले विद्यालयबाट प्राप्त गर्नु पर्ने छात्रवृति रकम समयमा बालबालिकाहरुले प्राप्त गर्न नसकेको, विद्यालय शान्ति क्षेत्र भनिए पनि राजनीतिक थलो बनिरहेको विषय उठाउनुभयो ।

त्यसैगरी प्रधानाध्यापक कन्चन कुमारी यादवले विद्यार्थीको अनुपात र आवश्यकतामा अधारित शिक्षक दरबन्दी मिलान गर्नुपर्ने, मावि तहसम्मको शिक्षा निशुल्क भनिए पनि सामुदायिक विद्यालयमा अक्रर्षण घटेकाले ध्यान दिनुपर्ने यादवको भनाई थियो ।
सहभागीहरुले स्वास्थ्य अधिकारको सवालमा स्वास्थ्य चौकीहरूमा परिवार नियोजनका अस्थाई साधनको उपलब्धता, ब्लड प्रेसर जाँच र मधुमेहको जाँच तथा औषधि निशुल्क गराउनुपर्ने माग गरेका थिए ।
सहभागी अजमल नेपालीले राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डको नीति लिनुपर्ने सुझाव दिनुभयो ।
सरोकारवाला सेवाग्राहीले उठाएका सवालमा स्वास्थ्य शाखा प्रमुख अमिल अख्खतर, पशु शाखा प्रमुख मोहन कुमार सिंह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुदेव यादव, मानव अधिकार समूहका अध्यक्ष अनिता उराँव, इन्सेकका सहजकर्ता जयकृष्ण यादव, गाउँपालिका उपाध्यक्ष अनिता यादव र वडा अध्यक्ष राजकुमार साह सहितकाले जवाफ दिनुभयो ।
उपाध्यक्ष अनिता यादवले स्वास्थ्य, कृषि, पशु र शिक्षाको अवस्था विषयमा गाउँपालिकाले गरेका काम तथा योजनाबारे जानकारी गराउँदै नागरिकहरूबाट आएका सुझावलाई अङ्गिकार गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । वहाँले मुस्लिम महिला वा छात्राको मावि तह र उच्च शिक्षाका लागि आफूले वडा अध्यक्षहरुसंग र मोलवि मोलानाहरुसंग समन्वय गरेर कार्यक्रम अगाडी बढाउने प्रतिबद्धता जनाउनुभयो ।
यादवले सबै क्षेत्रमा अनुगमन गर्न एकलै सम्भव नभएकाले सरोकारबालाहरुलाई अनुगमनमा सहयोग गर्न र देखिएको समस्याका बारेमा लिखित रुपमा उजुरी गर्न आग्रह गर्नुभयो ।
कोशी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुदेव यादवले सरकारी सूविधा र अनुदान पहुचका आधारमा मात्रै दिएको गुनासो गर्नुहुदै आवश्यकताको आधारमा सुविधा र अनुदना दिनुपर्ने सुझाव दिनुभयो ।
पशु शाखा प्रमुख मोहन कुमार सिंहले गाउँपालिका भित्र चार जनाको दरबन्दी जनशक्तिमा दुई जना मात्रै स्थायी रहेको बताउदै उपचार र विकासका दुई वडा कार्यक्रम रहेकाले राम्ररी बुझन सहभागीलाई आग्रह गर्नुभयो ।
स्वास्थ्य शाखा प्रमुख जमिल अख्खतरले गाउँभित्रका स्वास्थ्य शाखा र स्वास्थ्य चौकीबाट भइरहेका सेवा र कामहरूको जानकारी गराउँदै आएका सुझावहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । वहाँले स्वास्थ्यका सवालमा आएको गुनासोलाई सम्बोधन गर्ने तर स्वास्थ्यकर्मीहरु समयसम्म नबसेको सवालमा लिखित उजुरी आए कार्वाही गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा गउँपालिकाका १ नम्बर वडा अध्यक्ष राजकुमार शाहले गाउँपालिकावासी र वडाबासीहरूको स्वास्थ्य, शिक्षा, खाद्य र आवासमा देखिएका समस्याहरूलाई समाधान गर्न आफूहरु लागि परेको बताउनुभयो । कार्यक्रममा मानव अधिकार सञ्जाल सुनसरीका संयोजक रमेश भट्टराई, मानव अधिकार समूह कोशीका अध्यक्ष अनिता उराँव, उपाध्यक्ष श्यामकुमार खंग, सचिव विष्णुकुमार यादव, सहसचिव रिना मण्डल, कोषाध्यक्ष चन्द्रकला नेपाल, सदस्यहरु पप्पु यादव, मुस्ताल आलम, गिता पौडेल, आरती सदा, गुलावी सुतिहार मुखिया, राजकुमार शर्मा, ब्रजेश यादव र सिकेन्द्र यादव, लगायतकाले पनि सवालहरु उठाउनुभएको थियो । कार्यक्रममा वडा अध्यक्षहरु राजकुमार साह, द्रोपती साह, अमिन मियाँ र विन्देश्वर यादव, इलाका प्रहरी कार्यालय लौकहीका मनोजकुमार चौधरी, सशस्त्र प्रहरी वल लौकहीका टिकासुर राई, समाजसेवी दानालाल यादव, वडा सदस्य सदावती देवी राम, सनिचर यादव, समिम अंसारी, गाउँपालिका सामाजिक शाखाका राजकिसोर मेहता, नागरिक समाजका आषिश नेपाल, विद्यानन्द साह, फुलकुमारी शर्मा, ललिता कुमारी साह, पत्रकार लुकमान अंसारी, अजमल अंसारी सहितका ५० बढीको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहजकर्ता जयकृष्ण यादवदे दुई पेजको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै इन्सेकले यो वर्ष सम्पन्न गरेको कार्यक्रमहरुमा मानव अधिकार समूहको नियमित बैठक ८ वटा, पाकिलास्तरीय समस्या र सरोकारबाला पहिचान कार्यक्रम १ वटा, मानव अधिकार गोष्ठी अभियान वडास्तरीय ४ वटा (२,४,५ र ८ नम्बर वडामा), पाकिलास्तरीय स्वास्थ्य अधिकार सम्बन्धी सरोकारबालासंग अन्तरकृया १ वटा , पाकिलास्तरीय शिक्षा अधिकार सम्बन्धी सरोकारबालासंग अन्तरकृया १ वटा, पाकिलास्तरीय खाध्य अधिकार सम्बन्धी सरोकारबालासंग अन्तरकृया १ वटा, पाकिलास्तरीय अवाश अधिकार सम्बन्धी सरोकारबालासंग अन्तरकृया १ वटा, बाल अधिकार चेतना समूह कार्ययोजना कार्यान्वयन (श्री राष्टिय मावि श्रीपुर) १ वटा, शिक्षा, स्वास्थ्य, खाध्य र अबाश अधिकारको विषयमा सार्वजनिक सुनुवाई १ वटा सम्पन्न गरेको जानकारी गराउनुभयो । यादवले इन्सेकले यो वर्ष सम्पन्न गरेको कार्यक्रमहरुको प्रभाव र उपलब्धीमा इन्सेकको बैठकका लागि गापाले ३० हजार रुपियाँ दिने घोषणा गरेको , कोशी गापाको विद्यालय र स्वास्थ्य संस्थामा नियमित अनुगमन गर्ने कार्य सुरु भएको,कृषि, पशु , शिक्षा र स्वास्थ्य संस्थामा अनुगमनको काम सुरु भएको, कोशी गाउँपालिकाका कृषकहरूलाई रासायनिक मल गाउँकै सहकारीबाट वितरण सुरु भएको, कोशी गापा ४ श्रीपुरमा रहेको सुकुम्बासीका लागि जग्गा विषयँमा पहल गरेको, निर्माण सम्पन्न भएको भाण्टाबारी खानेपानी र कोशी गापा ५ को आधारभुत स्वास्थ्य केन्द्र भवन मानव अधिकार समूहको ज्ञापन पत्र पछि संचालनमा ल्याएको ,कोशी गाउँपालिकाका नागरिकको पीरमर्का र समस्या बुझन पहिलो पटक यही वर्ष जनतासंग अध्यक्ष कार्यक्रम सञ्चालन भएको, सामुदायिक विद्यालयमा स्यानेटरी प्याडको समयमा व्यवस्था भएको, मानव अधिकार समूहको कार्यक्रममा सरोकारबालाहरुको उपस्थिती बढेको , विद्यालयहरुमा पठनपाठन नियमित भएको र विद्यालय व्यवस्थापन समिति गठन भएको (कोशी मावि)मा लगायतका कुरा उल्लेख गर्नुभयो ।
सुनसरीको कोशी गाउँपालिकामा २०७६ कार्तिकदेखी मानव अधिकार समूह गठन भएपछि हालसम्म नियमित भएर मानव अधिकार रक्षाको वकालत गर्दै सचेतनामुलक अभियान समेत गर्दै आएको यहाँलाई सर्वविदितै छ । कोशी गाउँपालिकाको १ देखी ८ नम्बर वडासम्मका प्रत्येक वडाबाट प्रतिनिधित्व हुने गरी जिम्मेबार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तरगत मानव अधिकार समूहको गठन गाउँपालिकाको सहकार्य र वडा कार्यालयहरुको संयोजन तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) विराटनगरको सहयोगमा भएको हो । यस मानव अधिकार समूहले कोशी गापामा शिक्षा, स्वास्थ्य, खाध्य र अबाश अधिकारको बारेमा जानकारी सहितको अभियान थालेका छौं । सोही क्रममा गरिएको अनुगमन र सेवाग्राहीहरुसंगको प्रत्येक्ष भेटघाट, अन्तरवार्ता र समूहको आयोजनामा सम्पन्न गरिएको वडास्तरीय गोष्ठी कार्यक्रममा वडा अध्यक्षहरु, विभिन्न विषयगत शाखाहरु, राजनीतिक दल, जनप्रतिनिधि, सहकारी संस्था, गैरसरकारी संस्थाहरु, महिला तथा किसोरी समूहका सदस्यहरु तथा कृषि र कृषक समूहको सहभागितामा कार्यक्रमहरु सम्पन्न गरेका छौं ।

फेसबुकबाट तपाईको प्रतिक्रिया