यूएईबाट अन्तरिक्षमा पठाइने एक महिलाको पनि समावेश – Nagarikabhiyan : National News

यूएईबाट अन्तरिक्षमा पठाइने एक महिलाको पनि समावेश

रासस 

दुबई ।  संयुक्त अरब इमिरेट्सले दुईजना अन्तरिक्ष यात्रीका लागि एक महिलाको पनि समावेश गरिएको छ ।  शनिबार  घोषणा गरिएका नामहरुमा नोउरा अल–माट्रोसी महिला हुन् भने मोहम्मद अल–मुल्ला पुरुष हुन् ।

दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मक्तोमले ट्विटरमार्फत दुई अन्तरिक्ष यात्रीको नाम घोषणा गरेका हुन् ।  सन् १९९३ मा जन्मिएकी अल–माट्रोसी अबुधाबीस्थित नेसनल पेट्रोलियम कन्स्ट्रक्सन कम्पनीमा इन्जिनियर पदमा कार्यरत छिन् ।

 

यूएईका चार हजारभन्दा बढी आवेदकबाट दुईजना छनोट गरिएको अधिकारीहरुले बताएका छन् । उनीहरु दुवैलाई अमेरिकाको टेक्सासस्थित नासाको जोन्सन स्पेस सेन्टरमा तालिम लिन पठाइनेछ । यदि, अल–माट्रोसी अन्तरिक्ष अभियानमा सफल भएमा उनी अन्तरिक्ष पुग्ने पहिलो अरबी महिला हुनेछिन् । यसअघि, इरानी–अमेरिकी महिला अनुशेह रैसायानले झन्डै दुई करोड डलर तिरेर पर्यटकको रुपमा सन् २००६ मा अन्तरिक्ष यात्रा गरेकी थिइन् ।

 

अन्तरिक्ष यात्रा गर्ने पहिलो अरब मुस्लिमको रेकर्ड भने साउदी अरबका राजकुमार सुल्तान बिन सल्मानले बनाएका छन् । उनले सन् १९८५ मा डिस्कभरी यानबाट अन्तरिक्ष यात्रा गरेका थिए ।  सन् २०१९ मा यूएईका मेजर हज्जा अल–मन्सूरीले पहिलोपटक अन्तरिक्ष यात्रा गरेका थिए । उनी अन्तरिक्ष केन्द्रमा आठ दिन रहेका थिए ।