ओलीले निलम्वित गरेपछि घनश्याम भुसालले दिए यस्तो प्रतिक्रिया
१९ चैत्र २०७७, बिहीबार १४:५९
काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलाई नेकपा एमालेबाट ६ महिनाका लागि निलम्बन गर्ने कारबाही सुनाएपछि एमाले उपमहासचिव घनश्याम भुसालले त्यसबारे तत्काल प्रतिक्रिया जनाएका छन्।
सामाजिक संजाल फेसबुकमा लेख्दै उनले असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको बताएका छन् । उनले ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन भएको समेत बताएका छन् ।
उनले एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको आरोप लगाउदै उनका लागि संसारमा या त चाकर छन् या शत्रु भनेर टिप्पणी गरेका छन् ।
उनले हाम्रो पार्टीको गौरवको चीरहरण गर्दैछन्, हामीले सामना गरौँला/गर्नेछौँ भनेर ओलीलाई चुनौति समेत दिएका छन् । तर उनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय भएको चिन्ता समेत प्रकट गरेका छन् ।
उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ भन्दै मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादिका लागि मैले दुनियाँसँग माफी माग्छु भनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया