नहरमा दशदिनका लागि पानी दिने निर्णय
१७ चैत्र २०७७, मंगलवार १८:५०
सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाको विभिन्न स्थानमा सुनसरी मोरगं सिचाई आयोजनाको शाखा तथा उपशाखा नहरमा पानी विना सूचना बन्द गरेको भन्दै स्थानीय किसानको आन्दोलन पछि नहरमा १० दिनका लागि पानी दिने भएको छ । किसानको आन्दोलन र नहरमा पानी नदिएको विषयमा गोरखापत्र दैनिकमा समाचार प्रकाशन भएपछि आयोजना र जल उपभोक्ता समितिलाई प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बोलाएर छलफल गर्दा सबै नहरमा १० दिनका लागि पानी दिने भएको हो । एकसाता अघि किसानहरुले नहरमा पानी दिन बन्द गरेको र कुनै सूचना समेत नदिएको भन्दै आन्दोलनमा उत्रेको र त्यस विषयमा समाचार प्रकाशन भएपनि होलीको भोली पल्ट मंगलबार प्रजिअ ढकालले जिल्ला प्रशासन कार्यालय सुनसरीमा जिल्ला जलस्रोत समितिका पदाधिकारीहरुको उपस्थितीमा बसेको बैठकले नहरमा १० दिनका लागि पानी दिने, नहर अधिक्रमण गरी बनाएको घर टहरा हटाउने, चैत २८ गतेदेखी जेठ २५ गतेसम्म चतरा नहर बन्द गर्ने निर्णय भएको बताउनुभयो ।
बैठकमा सुनसरी मोरगं सिचाई आयोजनाका भिलानन्द यादव, यादव बराल, प्रमेचन्द्र झा, प्रहरी उपरीक्षक कमल थापा, राष्ट्रिय अनुशंधानका नरेन्द्र बहादुर दाहाल, सशस्त्र प्रहरी उपरीक्षक माधव प्रसाद पौडेल, केन्द्रिय जल उपभोक्ता महासंघका अध्यक्ष रामप्रसाद मेहता सहितका सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया