भूमिहीन र सुकुम्बासी रहेका झापाका ८० हजार परिवारलाई जग्गाधनी पुर्जा दिने – Nagarikabhiyan : National News

भूमिहीन र सुकुम्बासी रहेका झापाका ८० हजार परिवारलाई जग्गाधनी पुर्जा दिने

काठमाडौं ।  झापा जिल्लाका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरिरहेका ८० हजार परिवारलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गर्ने गरी भूमि सम्बन्धी समस्या समाधान आयोगले काम तीव्र बनाएको आयोगका अध्यक्ष प्रेम गिरीले बताए ।

 

आयोगले ती परिवारको भूमि सम्बन्धी समस्या समाधान गरी धनीपुर्जा प्रदान गर्छ” अध्यक्ष गिरीले भने, “अघिल्ला आयोग, टोली, जग्गा दर्ता समितिले अधुरा छोडेका काम समेत यो आयोगले पूरा गर्छ ।

 

भूमि सम्बन्धी समस्या समाधानमा राजनीतिक दललगायत अन्य सरोकारवालासँग समेत छलफल र सहजीकरण गर्ने, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले सहज सेवा लिन सक्ने वातावरण तयार गर्ने विषयमा जोड छ । भने अबको डेढ महिनाभित्र सबै पालिकाबाट भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन भइसक्ने  अध्यक्ष गिरीले बताएका हुन् ।

 

संविधानले मौलिक अधिकारको रुपमा निर्दिष्ट गरे अनुसार आयोगले मुख्य रुपमा तीन वटा कामलाई प्राथमिकतामा राखेर  भूमिहीन दलित र भूमिहीन सुकुम्बासी, भोगचलन गरिरहेको अव्यवस्थित बसोबासी र विगतका अधुरा काम समेत पूरा गर्ने अध्यक्ष गिरीले जानकारी दिए ।

 

आयोगले ऐलानी, प्रतिजग्गा र आवात भएको जमिनको विषयमा निर्णय गरेपनि संघ संस्था तथा नेपाल सरकारकै जग्गाको विषयमा केही गर्न नसक्ने जनाइएको छ । आयोगले स्थानीय तहसँग सम्झौता गरेर मात्रै काम गर्ने र स्थानीय तहलाई नै जिम्मेवार बनाएर वास्तविक सुकुम्बासीसम्म पुग्ने लक्ष्यका साथ काम भइरहेको अध्यक्ष गिरीको भनाइ छ ।