ग्यास सिलिण्डर विस्फोट हुँदा होटल सञ्चालकको मृत्यु र ५ ग्राहक घाइते – Nagarikabhiyan : National News

ग्यास सिलिण्डर विस्फोट हुँदा होटल सञ्चालकको मृत्यु र ५ ग्राहक घाइते

काठमाडौं ।  भक्तपुरमा खाना पकाउने ग्यास विस्फोट हुँदा होटल सञ्चालकको मृत्यु र ५ ग्राहक घाइते भएको छ ।

 

सूर्यविनायक नगरपालिका ५ सृजनानगरस्थित भीमेश्वर मःमः एण्ड चिकेन हाउसका सञ्चालक टिकाराम बस्नेतको शुक्रबार बिहान ज्यान गएको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए।

दोलखा सैलुङ गाउँपालिका ६ का ३९ वर्षीय बस्नेत परिवार भक्तपुरमा होटल सञ्चालन गर्दै आएका थिए।

शिवलाल कस्पालको ४ तले पक्की घरको पहिलो तलामा सञ्चालित होटलमा गत चैत ८ गते साँझ खाजा बनाउने क्रममा सिलिण्डर बिस्फोट भएको हो। खाजा खान आएका ५ जना ग्राहक पनि घाइते भएका छन्। घाइते मध्य दुई जनाको अवस्था गम्भीर छ।

उनीहरुलाई तत्काल डा.इवामुरा अस्पता सल्लाघारी र मध्यपुर अस्पताल ठिमीमा लगिएको छ। बस्नेतको भने किर्तीपुर बर्न सेन्टरमा उपचारकै क्रममा शुक्रबार ज्यान गएको हो।

दोलखा सैलुङ घर भई हाल काठमाण्डौ कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की गम्भिर घाईते छन्।

झापाको बुद्धशान्ति गाउँपालिका २ घर भई हाल सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, भक्तपुर सुर्यविनायक नगरपालिका ५ कटुन्जेका १७ वर्षीय विकास पौडेल र १६ वर्षीय हिमुन्स थापा पनि घाइते छन्।

उनीहरुको भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।