नेपाली मदिरा भारतमा तस्करी, भारतीय सामान नेपालमा तस्करी – Nagarikabhiyan : National News

नेपाली मदिरा भारतमा तस्करी, भारतीय सामान नेपालमा तस्करी

सुनसरी  ।  भारतको उत्तर प्रदेश सीमावर्ती बजारमा नेपालबाट रक्सी तस्करी हुने गरेको छ। रक्सी तस्करले खुल्ला नाकाको फाइदा उठाइरहेका छन्।

सुनसरीका विभिन्न टोलहरुमा बन्ने घरेलु रक्सी नाकाछेउका गाउँमा लगेर राख्ने र पायक पर्दा भारततिर पठाउने गरिन्छ। मदिराप्रेमी भारतीयहरु यतै आएर खाने गर्दछन्। भारतीय गाडीमा सीमावर्ती नेपाली बजारमा मदिरा सेवन गर्न आउनेको पनि कमी छैन।
घरेलु हिंसादेखि झैझगडाको कारणमध्येमा गनिने मदिरा पछिल्लो समय सशस्त्र प्रहरी बल बसन्तपुर र भोक्राहाले बसन्तपुरको बंगाली टोल र भोक्राहाको उल्टी , बोर्डर टोलमा निगरानी बढाएको सशस्त्र प्रहरी बल बसन्तपुर प्रमुख निकुन्ज ढुङानाले बताएका छन् ।

सुनसरीको हरिनगर गाउँपालिका वडा न –५ को बसन्तपुर र भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ८ को उल्टीमा मदिरा उत्पादन गर्ने भठीहरु संचानमा रहेका छन् । सो भठी बाट उत्पादन गरिएको मदिरा सिमावर्ती भारतीय बजार बसमतिया,घुर्ना, बिरपुर लगाएतका बजारहरुमा नेपालबाट सहजै चोरबाटो हुदै तस्करी हुनेगरेको छ ।

त्यसैगरी भारतबाट पनि मोटर,पंखा,घरका वाईरिंगका समान जस्तै तार, बोर्ड, सुईच, कपडा ,सुर्ती रजनिगन्धा जस्ता अबैध सामान बसन्तपुर र भोक्राहाको चोर बाटोहुदै नेपाल भित्रीने गरेको पाइएको छ ।

दशगजासँग जोडिएको यो गाउँमा दिउँसो सामान पु¥याएर थुपार्ने र प्रहरीकै संगलग्नमा मौका मिल्दा पारी पठाउने गरेको स्थानीयहरुले बताएका छन् ।

नेपालमा मदिरा पर्यटनः उनीहरू बिहारबाट नेपाल आउँछन्, तिर्खा मेटाउँछन् र घर फर्किन्छन्

सीमापारि भारतको बिहारमा मदिराको बेचबिखनमाथि प्रतिबन्ध लगाइएकाले मदिरा पारखीहरूको लागी गन्तव्य बनेको छ नेपाल । मदिराप्रेमीहरूको सन्ध्याकालीन नेपाल यात्राको क्रम बढेपछि नेपालमा मदिरा पर्यटन फस्टाएको स्थानीय व्यवसायीहरूले बताएका छन्। आफ्नो व्यापार फस्टाएका कारण उनीहरू प्रसन्न भए पनि स्थानीय बासिन्दाहरू भने मदिरा सेवन गर्नेहरूको चहलपहल र होहल्लाले आफूहरूले असुरक्षित महसुस गर्न थालेको बताएका छन्।

सुनसरीको सीमाक्षेत्रको पीडा कस्तो?

भारतको बिहारमा मदिरा प्रयोग तथा बिक्री वितरणमा प्रतिबन्ध लागेपछि सुनसरीको सीमाक्षेत्रमा रहेका भट्टी र मदिरा बेचिने पसलहरुमा बिहानदेखि बेलुकीसम्मै भारतीयहरू आउने क्रम बढेको छ। सुनसरीको भारतीय सीमावर्ती हरिनगरको बसन्तपुर शिशुवा र भोक्राहाको उल्टी स्थित पसलहरूमा बाहिरै बसेर भारतीय नागरिकहरू मदिरा सेवन गरिरहेको सहजै देख्न सकिन्छ।

भारतीय मदिराप्रेमीको भिड बढेकाले आफ्नो सुरक्षाबारे स्थानीयवासी चिन्तित हुन थालेको र भट्टीहरूका कारण सीमावर्ती क्षेत्रमा चोरी, लुटपाट र अन्य आपराधिक घटना पनि बढेको स्थानीयहरु बताउँछन । सुनसरीको भोक्राहाको बिनिता देवी साहले आफ्नो गाउँमा भट्टीको सङ्ख्यामा वृद्धि हुँदै गएकोले समाजमा नकारात्मक असर परेको बताइन्।

मदिरा पसल अझ क्रम बढिरहेको यतिसम्म कि बिहारको बसमतिया सीमा जोडिएको दक्षिणपश्चिम सुनसरीको बसन्तपुर, भोक्राहा नाकाकै छेउमा छ वटा मदिरा पसल खुलेका छन्।
सन् २०१७ को नोभेम्बर २६ मा बिहारमा मदिरा बन्दको घोषणा भएको थियो। अर्को वर्ष ५ अप्रिलदेखि त्यहाँ मदिरामा पूर्ण प्रतिबन्ध लगाइएको हो । त्यसपछि बिहारबाट मदिरा पारखीहरूका लागि नेपाली सीमावर्ती क्षेत्रमा खुलेका मदिरा पसलहरू आफ्नो तलतल मेटाउने ठाउँ बन्न थालेको छ ।
बिहारमा मदिरा बन्द भएपछि नेपालका नाका छेउछाउका मानिसहरूले मदिरा पसल गरेर आयआर्जन गर्ने बाटो समाएका छन् ।
भारतको बिहारसँग सीमा जोडिएका प्रदेश नं १ का अन्य स्थानहरूमा पनि मदिराका पारखी भारतीय नागरिकलाई लक्षित गरी मदिरा पसलहरू प्रशस्त खुलेको प्रहरीका अधिकारीहरू बताउँछन्। तर पनि त्यस क्षेत्रका भारतीय मदिरा पारखीहरू साँझ परेपछि नेपाली मदिरा सेवन गर्न आउने गरेको हाम्रा स्थानीय सम्वाददाताहरू बताउँछन्।

नेपालमा सहज रूपमा मदिरा बिक्री र सेवन गर्न पाइने भएकाले भारतीय नागरिकहरू मदिरा सेवन गर्नकै लागि नेपालमा आउने गरेका हुन्।