घरमा आगलागी हुँदा एक बालकको ज्यान गयो – Nagarikabhiyan : National News

घरमा आगलागी हुँदा एक बालकको ज्यान गयो

काठमाडौं ।  आइतबार साँझ घरमा आगलागी हुँदा एक बालकको ज्यान गएको छ ।

उदयपुरको कटारी नगरपालिका–१० पाल्सिङ बरालथुम्कामा घरमा साँझ परालको कुनिउबाट अचानक आगो सल्किँदा नजिकै रहेका सुजन थापाको घरमा आगोलागी हुँदा उनका तीन वर्षीया छोरा अर्बिन्द्र थापाको जलेर ज्यान गएको हो ।

आगलागीबाट सृजन थापा, प्रकाश थापा र मेघबहादुर थापाको तीनवटा घर जल्दा करिब ८३ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।  सुजनको दुईतले घर, १ वटा मतान, १ वटा बाख्राको खोर, १ लाख ५० हजार नगद, २ वटा बाख्रापाठा, अन्नपात, लत्ताकपडा, भाँडाबर्तन जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका एसपी भिमबहादुर दाहालले जानकारी दिए ।

क्षतिको एकिन नभएपछि प्रहरीले करिब ३० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । त्यसैगरी प्रकाश थापाको तीन तले घर, दुईवटा मतान, नगद, २ तोला सुन, १५ तोला चाँदी, १ वटा भैसीको पाडो, २ वटा बाख्रा पाठा, अन्नपात, लुगाफाटा, भाँडाकुडा जलेका छन् । उनको अन्दाजी नगद जिन्सी २८ लाख बराबरको क्षती भएको प्रहरीको अनुमान छ ।

त्यस्तै मेघबहादुर थापाको घर जल्दा २५ लाख बराबरको क्षति भएको अनुमान छ । उनको दुई  तले घर, एकओटा मतान, ३ वटा बाख्रापाठो, २५ वटा कुखुरा, अन्नपात, लत्ताकपडा, भाडावर्तन सबै जलेका छन् ।

आगो इलाका प्रहरी कार्यालय कटारी, अस्थायी प्रहरी चेक प्वाइन्ट बेतेनी, प्रहरी चौकी सोरुङछविसेबाट गएको टोली र स्थानीयको सहयोगमा चार घण्टापछि नियन्त्रणमा आएको थियो ।