सिपाहीको टीएडीएदेखि मरेका मान्छेको नाममा समेत पैसा खाने २ एसएसपीको जागिर धरापमा ! – Nagarikabhiyan : National News

सिपाहीको टीएडीएदेखि मरेका मान्छेको नाममा समेत पैसा खाने २ एसएसपीको जागिर धरापमा !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारअभियोगमा नेपाल प्रहरीका दुई एसएसपीमाथि छानविन प्रक्रिया अगाडि बढाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख किरण बज्राचार्य र प्रहरी हेडक्वार्टर नक्सालमा कार्यरत पूजा सिंहविरुद्ध परेका उजुरीमाथि अख्तियारले छानविन र अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

एसएसपीद्वय बज्राचार्य र सिंहमाथि आर्थिक अनियमितता गरेको अभियोग लागेको छ । बज्राचार्य महानगरीय प्रहरी परिसर भक्तपुमा एसपी हुँदा बेवारिसे शव व्यवस्थापनका लागी निकासा भएको सरकारी पैसा हिनामिना गरेको आरोपमा उजुरी परेको थियो । बेवारिसे सबको लागि महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख किरण बज्राचार्य र प्रहरी हेड्क्वार्टर नक्सालमा कार्यरत पुजा सिंहको आर्थिक अनियमितताबारे आयोगले छानविन गरेको हो ।

बज्राचार्य भक्तपुरको एसपी हुँदा बेवारिस सब ब्यवस्थापनको रकम हिनामिना गरेकी थिइन् । उनी ०७२ असोज देखि ०७३ मंसिर सम्म भक्तपुर इन्चार्ज थिइन् । पूजा सिंहमाथि जिल्ला प्रहरी कार्यालय काभ्रेको एसपी हुँदा सरुवा भएर जाने कर्मचारीले पाउने टिएडिए नदिएर आफैंले हिनामिना गरेको आरोप छ । सरुवा भएर जाने कर्मचारीलाई दिनुपर्ने भत्ता रकम लेखापाल धुब गौतमसँग मिलेर उनले नक्कली हस्ताक्षर गरेर कागजपत्र मिलाएको भन्दै उजुरी परेको थियो ।

सिंह ०७१ भदौदेखि ०७२ असोजसम्म काभ्रेको इन्चार्ज थिइन् । अहिले उनी प्रहरी हेडक्वार्टरको प्रशासन महाशाखामा कार्यरत छिन् । प्रहरीका परिवारले पाउनुपर्ने टीएडीए मिलेर खाएको उजुरीपछि प्रहरी प्रधान कार्यालयले लेखापाल गौतमलाई लेखापालबाट हटाएको थियो ।

टीएडीए खाने पूजा सिंहको उजुरीमा अख्तियारले चासो राखेपछि प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत प्रहरी निरीक्षणालयका एक एसएसपीको कमाण्डमा छानबिन टोली गठन गरेको थियो ।

सरुवा हुने तल्लो दर्जाका प्रहरीलाई मात्र होइन, उनीहरूका परिवारलाई समेत राज्यले टीएडीए सुविधा दिने गरेको छ । तर कतिपय इन्चार्जले सरुवा भएर जानेहरूको टीएडीए दिए पनि उनीहरूका परिवारको नदिई कीर्ते गरेर खाने गरेको पाइएको छ । सरुवा हुने प्रहरीले बाबुआमा, श्रीमती र २ सन्तानको टीएडीए पाउँछन् ।

एसएसपी सिंह र लेखापाल गौतम मिलेर टीएडीए खाएको बिषयमा अख्तियारले त्यतिबेला कार्यरत १ सय ५० जनासँग बयान लिएको थियो । सरुवा हुने तल्लो दर्जाका सिपाही हवल्दारदेखि कनिष्ट अधिकृतका परिवारको टीएडीए तत्कालीन एसपी सिंह र लेखापाल गौतमले खाएको उजुरी परेको थियो । अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले एसएसपीद्वय बज्राचार्य र सिंहविरुद्ध परेको उजुर उपर छानविन भइरहेको संचारमाध्यममा नै प्रतिक्रिया दिएपछि प्रहरीभित्र भुइचालो गएको छ ।