प्रचण्डमाथि सूर्य थापाको कटाक्ष : ‘रिसाएको बिरालोले खाँबो चिथोर्छ’
९ चैत्र २०७७, सोमबार ०८:२६
काठमाडौँ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्यथापाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको कडा आलोचना गरेका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले केपी ओली २५ औं वर्षदेखि विदेशीबाट पालित पोषित व्यक्ति भएको आरोप लगाएका थिए ।
त्यस अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सल्लाहकार थापाले सोमबार बिहानै ‘रिसाएको बिरालोले खाँबो चिथोर्छ’ भन्दै प्रचण्डको मनोदशा क्रमशः बिथोलिएर पूर्वाग्रह र द्वेषको दलदलमा भासिएको आरोप लगाएका छन् ।
‘पुष्पकमल दाहालको मनोदशा क्रमशः बिथोलिएर पूर्वाग्रह र द्वेषको दलदलमा यसरी भासिएको छ कि डिप्रेसनमा फस्दै जाँदा सायद यस्तैयस्तै मनोदशा प्रकट हुने गर्छ’, सल्लाहकार थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विगतमा दस बर्ष सशस्त्र आन्दोलन गरेर १७ हजार नागरिकको जीवनलीला समाप्त गर्दा, नेपालका भौतिक पूर्वाधारमा बम ब्लास्ट र आगजनी गरी बिध्वंस पारेर देशलाई ५० बर्ष पछाडि धकेल्ने कृत्य गर्दा, अनि हिंसा मच्चाउँदा उहाँलाई कसले पालित पोषित गरेर कहाँको पावनभूमिमा सुरक्षित गरेको थियो ?’
उनले नोयडा, दिल्ली, सिलिगुडी, लखनउ, पटना, पञ्चाय, गोरखपुर आदी ठाउँ कहाँ पर्छन् भन्ने प्रश्न गर्दै भनेका छन्, ‘जहाँ उहाँले नेपालका विभिन्न नेताहरूलाई भेट्न बोलाउने गर्नुभएको थियो र, १२ बुँदे समझदारी कहाँ भएको थियो ? उहाँले कसको सुरक्षा र ज्वाइँ सत्कारमा त्यहाँ जिविकोपार्जन गर्नुभएको थियो ?’
उनले नेपालका विद्रोही नेता कहाँ र कसको पोल्टामा पालितपोषित र सुरक्षित थिए भन्ने प्रश्न समेत गरेका छन् । थाथाले अरुको आलोचना गर्नुभन्दा ऐनामा आफ्नो अनुहार हेर्न भन्दै प्रचण्ड र केपी ओलीको तुलना हुन नसक्ने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया