संसद वैठक सुरु नहुँदै बाहिरिए प्रधानमन्त्री
२६ फाल्गुन २०७७, बुधबार १३:३४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठक सुरु नहुँदै बाहिरिनुभएको छ ।
प्रतिनिधि सभा बैठकको कार्यसूचीका सम्बन्धमा सभामुख, दलका नेता र कानुन मन्त्रीबीच छलफल चलिरहँदा प्रधानमन्त्री बाहिरिएको जनाइएको छ ।
बैठक शुरू हुन ढिला भएको भन्दै प्रधानमन्त्री बाहिरिएको जनाइएको छ । करिब १५ मिनेट अघि संसद् छिर्नुभएका प्रधानमन्त्री बाहिरिनुअघि दलका उपनेता सुबास नेम्वाङसँग कुराकानी गर्नुभएको थियो ।
बैठक सुरु नहुँदै हिँड्नुको कारणबारे सञ्चारकर्मीको जिज्ञासमा प्रधानमन्त्री ओलीले हातमात्रै हल्लाउँदै हिँड्नुभएको जनाइएको छ ।
आजको बैठकमा दलका शीर्ष नेताहरुले बोल्ने कार्यक्रम रहेको छ । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी गरी ४ वटा राष्ट्रिय दल छन् । त्यसबाहेक राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका सांसद स्वतन्त्र हैसियतमा छन् ।
अधिवेशन आरम्भको अवसरमा दलीय आधारमा बोल्न दिने यसअघिको परम्परा छ । बुधवार एमालेका तर्फबाट प्रदीप ज्ञवाली बोल्ने तयारी रहेपनि अन्य दलले भने बोल्ने नेताको नाम दिएका छैनन् । यसअघि फागुन २३ गते बोलाइएको बैठक नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया