नारी दिवस किन ? – Nagarikabhiyan : National News

नारी दिवस किन ?

नारी दिवस महिलाहरूको हक, अधिकार र सम्मानको मात्र कुरा होइन । विश्वलाई नै तुलना गरौं त महिला बिनाको संसार कति निरस होला ?

महिलाको प्रगति भनेको त्यो घरको, त्यो समाजको, त्यो राष्ट्रको नै प्रगति हो । नारी दिवस उत्सव कुनै नारी वर्ग विशेषप्रति मात्र लक्षित नभएर प्रगति पथको एउटा अभियान हो । महिला माथि कुनै किसिमको भेदभाव नगरियोस् भन्ने चेतना जागृत गर्ने अभियानको उत्सव नेपालका साथै विश्वका सबै देशमा नारी दिवस मनाइदै आएका छन् ।

प्रेम, करुणा, सम्मान, ध्यान, परोपकार, समाजसेवाजस्ता अमूल्य कामहरूमा महिलाले हक खोजिरहनु पर्दैन । यी गुण उनीहरूलाई पहिलेदेखि नै अस्तित्वले प्रदान गरेको छ ।

अब कुरा आउँछ सम्पत्तिमा हक, राजनीतिमा हक, शिक्षामा हक, स्वतन्त्र भएर बाँच्न पाउने हक । यी कुराहरूमा पितृसत्तात्मक परिपाटीका कारण महिलाहरूलाई पछाडि पारिएको छ । अहिले त यी कुरामा पनि धेरै प्रगति भैसकेको छ ।

नेपालको संविधानमै महिला हक– अधिकारका सम्बन्धमा अनेकन व्यवस्था छन् । नीति निर्माणदेखि राजनीतिक सहभागिता अनि अरु धेरै पक्षबाट महिला सहभागितालाई प्राथमिकतामा राखिएको छ । कुनै पनि क्षेत्रमा महिलाले आफ्नो सक्षमता प्रस्तुत गर्न सक्ने हो भने ढोका खुल्ला छ र अवसर पनि त्यत्तिकै छन् ।

सकारात्मक सोच नै महिलाहरूको प्रगतिको आधार बन्नसक्छ । घरमा छोरा र छोरी भनेर गरिने भेदभाव कम हुँदै गएको छ । सबैलाई शिक्षा भन्ने नारासहित छोरीहरू शिक्षित हुँदै जाने परम्पराको विकास हुँदै छन । अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना ।